
जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गरेका छन् ।
आईतवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए । उनले मुलुक सत्ता गठबन्धनका कारण चौतर्फी संकटतर्फ गइरहेको समेत बताए ।
शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गर्दै उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको बताए । उनले वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएर स्वार्थ, लेनदेनमा आधारित रहेकाले लामो समयसम्म नचल्ने बताए ।
‘गठबन्धनभित्रका तमासाहरु हामी देखिरहेका छौँ । त्यो कुन रुपमा विकसित हुन्छ हेरिरहेका छौँ । हामी त्यति रुची र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ,' उनले भने, 'यो गठबन्धन आफैँ भित्रका समस्याहरुले, अन्तरबिरोधले चर्मराइरहेको छ । कुनैपनि बेला टुट्न, फुट्न सक्छ । मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ देखिरहेको छ । शान्ति सुरक्षा, विकास निर्माण, सुशासनका दृष्टिकोणले हेर्नुहोस्, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा मुलुकले गम्भीर समस्या झेलिरहेको छ । यो समाजको अग्रगतिका लागि यो गठबन्धन प्रमुख बाधक हो । पछिल्लो दिनमा यो गठबन्धन आफैँ भित्रका अन्तरबिरोध र समस्याहरुको भुमरिमा फसेको छ । यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन । देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि यस प्रकारका गठबन्धन टुट्नुपर्छ ।’
उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नुपर्ने बताए ।