News 24 Television
शालिन प्रकरण : बलात्कार देखिएन, हत्या कि आत्महत्या ?
Salin-Prakaran-100%

काठमाडौँ । चितवन रत्ननगर नगरपालिकास्थित एक निजी विद्यालयको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको घटनाले यतिबेला सामाजिक सञ्जालहरुमा सनसनी मच्चाएको छ । १४ वर्षीया बालिकाले आत्महत्या गरेको विषयलाई संशयपूर्ण मानिए पनि पोष्टमार्टम रिपोर्टले आत्महत्या ठहर्याएको छ । यद्यपी घटनाको थप अनुसन्धान भने प्रहरीले जारी नै राखेको छ ।

चितवनको रत्ननगरनगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी १४ वर्षीया बालिका सालिन पोखरेल गत फागुन १२ गते विहान साढे १० बजे विद्यालय हाताभित्रै झुण्डिएको अवस्थामा फेला परिन् । बालिका पोखरेलको आत्महत्या नभई आत्महत्या भएको आशंका परिवारले गर्यो । घटनापछि बालिकाका बाबुले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेर गरे । किटानी जाहेरीपछि प्रहरीले विद्यालयका प्रिन्सिपलसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

घटनापछि मृतक बालिकाको बाबुले चितवनमै पोष्टमार्टम गर्न पनि अस्वीकार गरे । उनले आफ्नो छोरीलाई दोस्रो निर्मला पन्त बनाउन खोजिएको आशंका गरे । बलात्कार गरी हत्या गरिएको आरोप लगाउँदै उनले यूट्युबरहरुलाई बोलाएर प्रतिक्रिया दिए । काठमाडौंमै आएर उनले पत्रकार सम्मेलन समेत गरे । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहँदा सामाजिक सञ्जाल तथा सञ्चार माध्याममा घटनालाई अतिरञ्जित गर्ने सामग्रीहरु पोष्ट भएको भन्दै शनिवार मात्रै चितवन प्रहरीले प्रेस नोट नै जारी गरी ध्यानाकर्षण गरेको थियो ।

आइतबार गोरखाको अजिरकोट गाउँपालिकाले पनि विज्ञप्ति जारी गरी घटनालाई अतिरञ्जित गर्ने गरी समाजिक सञ्जालमा पोष्ट नगर्न तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

घटनास्थलबाट प्रहरीले सुसाइट नोटसमेत फेला पारेको छ । सुसाइट नोट बालिकाको अक्षरसँग मेल खाने नै भएको भए पनि उक्त नोट समेत फरेन्सिक ल्याबमा नै पठाइएको बताएको छ । बालिकाको हत्या कि आत्महत्या भन्ने अन्यौल कायमै रहँदा आइतबार मात्रै अस्पतालको पोष्टमार्टम रिपोर्टले बलात्कार नभएको स्पष्ट गरेको छ ।

घटनाबारे विभिन्न आशंकाहरु ब्याप्त भइरहँदा सत्तारुढ दलका विभिन्न संघ संगठनहरु सडक प्रदर्शन गरेका छन् । घटनाको निश्पक्ष छानबिनको लागि दबाब दिनु जायज भए पनि अनुसन्धानलाई प्रभावित बनाउने काम भने जो कोहीले गर्नु हुँदैन । अनुसन्धानका बैज्ञानिक परीक्षण प्रतिवेदनहरु प्राप्त नभएको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तु संम्प्रेषण नगर्न प्रहरीले अपिल गररहेको छ ।

पारिवारिक बेमेलका कारण सानै उमेरदेखि बाबुआमाबाट टाढा रहेकी बालिकाको मनोविज्ञानका बारेमा पनि बुझ्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update