
- सुजन चालिसे
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सोमबारबाट सकिएको छ । नयाँ अध्यक्ष चयनका लागि फागुन २९ गते निर्वाचन हुँदैछ । सत्ता गठबन्धनमा अध्यक्षको उम्मेद्वार चयन सकसपूर्ण बन्दै गएको छ । कांग्रेस र माओवादी केन्द्रले अध्यक्षका लागि एकअर्कामाथि दवाव बनाइरहेका छन् । यता प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष चयनको अनिश्चिततालाई गठबन्धन तोड्ने अस्त्र बनाउन प्रयास गरिरहेको छ । के छ त, राष्ट्रियसभा अध्यक्ष चयनको भित्री खेल ?
राष्ट्रियसभा अध्यक्ष सहित २० जना सदस्यको पदावधि आइतबारबाट सकिएको छ । पदावधि सकिएसँगै सबै जनाको विदाई गरिएको छ । रिक्त स्थानका लागि यसअघि माघ ११ गते निर्वाचन भएको थियो । निर्वाचनअघि नै गठबन्धनबीच कसलाई अध्यक्ष बनाउने भन्ने अनौपचारिक सहमति भए पनि निर्वाचन परिणाम भने सहमतिअनुसार आएन । कोशीमा गठबन्धनबाट माओवादी सांसदले पराजय ब्यहोरेपछि गठबन्धनबीच दरार पैदा भएको छ । जसले गर्दा यसअघि कांग्रेसका कृष्ण सिटौलालाई अध्यक्ष दिने समझदारी विपरित माओवादीले पनि अध्यक्ष उठाउने बताइरहेको छ । सोमबार नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले सपथ ग्रहण गरेपछि कुल १८ सीट सहित माओवादी पहिलो पार्टी बन्दैछ । यसका अलावा सत्ता गठबन्धनमा भएको भद्र सहमति अनुसार अबको एक वर्षमा प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि संवैधानीक परिषद्मा माओवादीको उपस्थिति शुन्य हुनेछ । कोशीको परिणामलाई देखाएर राष्ट्रियसभामा उम्मेदवारी दिने निर्णय माओवादीले स्थायी कमिटीबाटै गरिसकेको छ ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि राष्ट्रियसभामा प्रवेश गराएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन तयार रहेको बताएका थिए । तर कोशीको नतिजाले माओवादीलाई रुष्ट बनायो । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले दुई दिनअघि मात्रै चितवन पुगेर परिस्थिति बदलिएको बताएका थिए । यसले कांग्रेसलाई अप्ठेरोमा पारेको छ । राष्ट्रियसभामा कांग्रेसले अडान लिए प्रचण्ड ओलीसँग मिलेर सत्ता गठबन्धन नै तोड्न सक्ने खतरा देउवाले महशुस गरेका छन् । त्यसैले वर्तमान गठबन्धन भत्काउन देउवा नलाग्ने माओवादीको बुझाइ छ । तर सहजै हार मान्ने पक्षमा कांग्रेस देखिएको छैन ।
गठबन्धन बदल्ने डर देखाएर प्रधानमन्त्रीले देउवालाई दवावमा राख्न चाहेका छन् । यता नेकपा एमालेले राष्ट्रियसभा अध्यक्ष चयनकै मौका पारेर गठबन्धन भत्काउने पासा फालिरहेको छ । गठबन्धन टुट्नसक्ने डरले देउवाले कांग्रेसबाट मन्त्री फेर्नका लागि प्रधानमन्त्रीलाई ग्रिन सिग्नल दिइसकेका छन् । यसअघि चर्चामा रहेको राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर कृष्ण सिटौलालाई गृहमन्त्री बनाउने विकल्प पनि खुला नै छ । मन्त्री फेर्नमा लचक बनेका देउवाले राष्ट्रियसभामा कतिको लचकता देखाउँछन् भन्ने आमचासो छ ।