News 24 Television
चलाख प्रचण्डलाई अर्को सफलता, प्रचण्डले घुमाएको कनेक्सनको भित्री लक्ष्य
nekapa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेपछि वामपन्थी समाजवादी विचारधारा बोक्नेहरु एकीकृत हुन सक्ने सम्भावनालाई बलियो पार्न खोजेका छन् ।

तत्काल वामपन्थी एकता सम्भव नभएको दाबी गर्दै आएका दल र नेताहरु अबको राजनीति कसरी अघि बढाउलान् ? यो चासोको विषय बनेको छ । त्यसोत प्रधानमन्त्री प्रचण्ड समाजवादी मोर्चालाई निरन्तरता दिने मामलामा समेत सफल ठहरिएका छन् ।

सत्तारुढ गठबन्धन भत्किएपछि समाजवादी मोर्चाको भविष्यमाथि संकटका रेखाहरु देखा परिसकेका थिए । कांग्रेससँग गठबन्धन तोडेपछि प्रधानमन्त्री प्रचण्डमाथि नेकपा एकीकृत समाजवादीले अप्रत्यासित कदम भन्दै आशंका व्यक्त ग¥यो ।

मोर्चा बनाएर राजनीतिक गतिविधिलाई सक्रिय बनाउन खोजेका प्रचण्डको योजनामाथि नेकपा एसकै कारण प्रश्न उठेको थियो । तर, अन्तिममा नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा निर्णय ग¥यो । यद्दपी, सत्ता सहकार्यका लागि भन्दै हस्ताक्षर गरेको जनता समाजवादी पार्टी भने फेरि भूराजनीतिको चपेटोमा प¥यो र सरकारमा जाने नजाने विषयमा अन्योलता सिर्जना हुने स्थिति बनिदियो ।

त्यसपछि फेरि समाजवादी मोर्चाकै भविष्यमा प्रश्न उठ्न थाल्यो । यस्तो स्थितिले प्रचण्डको समाजवादी मोर्चावाट शक्ति सञ्चय गर्ने उद्देश्य पुरा हुँदैन की भन्ने आशंका थप बलियो बन्यो । तर, यस्ता चुनौतिलाई उपेन्द्र यादवले पार लगाउदै अन्ततः सरकारमा सहभागी हुने भएपछि समाजवादी मोर्चा जोगाउने प्रचण्डको योजना सफल बन्न पुगेको हो ।

यि सबै परिदृष्यबाट समाजवादी मोर्चाले गति लिने सम्भावना बलियो देखिएको त छ तर वामपन्थी एकता सहकार्यको विषयमा भने अन्योलता कायमै छ । नेकपा एमालेले समेत पार्टी एकताको तहमा नै तत्काल जाने भन्दा पनि सरकारलाई सफल बनाउने र एकता गर्ने विषयमा हतार नगर्ने निर्णय नै गरेको छ ।

एमालेले तत्कालीन नेकपाको विघटनलाई स्मरण गर्दै अब नेताहरुको मात्रै नभएर कार्यकर्ता र जनभावनाको पनि एकता हुने गरि अघि बढ्ने योजना सुनाएको छ ।

https://youtu.be/nHHLK5nM4Fw?si=nuwBL-NBHcWi-0DI

यसले एमाले केहि जिम्मेवार ढंगले पेश हुने स्थिति बनेको देखिन्छ । तर, वामपन्थी, समाजवादी विचारधारा बोक्ने दल र नेताहरु एमालेलाई पनि समेट्ने गरि अघि बढ्ने काममा सक्रिय बन्लान ? यो चासोको विषय हो ।

वामपन्थी विचारधारा बोक्नेहरुले सहकार्य, कार्यगत एकता र दिर्घकालमा पार्टी एकताकै विषयलाई अघि बढाउने गरि राजनीतिक कार्यक्रम तयार पार्ने गरि काम शुरु भएको बताएका छन् । तर, यसको भरपर्दो आधार भने देखिन्न ।

गठबन्धन सत्ता स्वार्थ केन्द्रित बन्ने डर उत्तिकै छ । तर, एमालेले प्रचण्ड नेतृत्वको सरकारमा देखाएको सदासयता र गरेको त्यागलाई हेर्दा भने एमाले जिम्मेवार ढंगले नै पेश हुने अनुमान गर्न थालिएको छ ।

एमालेले प्रधानमन्त्रीलाई काम गर्न सहज हुने वातावरण सिर्जना गर्न भन्दै देखाएको लचकता र प्रचण्डले गरेको राजनीतिक यूटर्नले आकार लिन सके वामपन्थी, समाजवादी विचार बोक्नेहरुको मिलाप नहोला भन्न सकिने स्थिति भने छैन् ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update