News 24 Television
रविमाथि सहकारी ठगीको प्रश्न : कांग्रेस, रास्वपा र जनमोर्चाको लडाइ
RABI-RA-CONGRESSS-THUM

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको चरित्रमाथि गम्भीर प्रश्न उठेको छ । संसदमा कांग्रेससहितका दल र नेताहरुले रविमाथि गम्भीर प्रश्न उठाएपछि संसदमा घोचपेच र भयावह अवस्था बन्न पुग्यो । सांसदहरु रविमाथि सहकारी ठगीको आरोपमा मात्रै सीमित भएनन्, केही सांसदले त रविलाई प्रधानमन्त्री बनाउन किन खोजेको भन्दै कांग्रेसमाथि समेत प्रश्न तेस्र्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप संसदमै खुलेआम लागेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका नेता चित्रबहादुर केसीले रवि लामिछानेमाथि गम्भीर प्रश्न गर्दै सहकारी ठगी प्रकरणमा मुछिएको गम्भीर आरोप लगाए ।

केसीले रविलाई उपप्रधान एवम् गृहमन्त्री बनाएको विषयमा गम्भीर आपत्ति जनाए । केसीले यस्तो आरोप लगाइराख्दा रवि मुसुमुसु हासिरहे । तर, उनीमाथिको यो आरोप गम्भीर विषय हो । जसले सर्वसाधारण र वचतकर्तामा समेत संशय देखिन्छ ।

रविमाथि यस्तो प्रश्न उठाउनेमा जनमोर्चामात्रै छैन, कांग्रेसले पनि गम्भीर विषय उठाएको छ । प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश पोख्दै गर्दा कांग्रेसले रविलाई सहकारी ठगीमा मुछिएका कारण मन्त्री बन्न अयोग्य रहेको जिकिर नै गरिदियो ।

रवि लामिछानेलाई गृहमन्त्री बनाउने विषय कुनैपनि हालतमा ठिक नहुने दाबी गरिएका विषय संसदमा कांग्रेसले जोडदार उठाएपछि यसको प्रतिवादमा उत्रे रास्वपा सांसद । कांग्रेसमा अवसर नपाएपछि कांग्रेस छोडेर रास्वपा रोजेका उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेसलाई प्रहार गरे । कांग्रेसले समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदेला भन्ने डरका कारण भाग्नुपर्ने स्थिति आएको जिकिर नै गरिदिए । कांग्रेसलाई लामो समयदेखि आफूले चिनेको स्वर्णिमको दाबी छ ।

रविमाथिको प्रश्नलाई प्रचण्डसँग जोडेपछि उनले पनि कांग्रेसलाई जवाफ फर्काएका छन् । प्रचण्डले कांग्रेसलाईजवाफ दिने क्रममा रविको विषयमा डबल स्ट्यान्डर्ड किन भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदा छलफलमा सहभागी भएका नेताहरुले घोचपेच मात्रै गरेनन्, उनीहरुले एकअर्कालाई खुइल्याउने काम नै गरे । रविमाथि केन्द्रित भएको सहकारी ठगी र मन्त्री बन्न योग्यताको विषय गम्भीर ढंगले उठाइएको छ । रविमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको बताइएको थियो । तर, उनी आफै अनुसन्धान गर्ने निकायको प्रमुख बनेर गएपछि यो विषयले निरन्तरता पाउनेमा भने आशंका छ । यहि विषयलाई संसदमा गम्भीरतापूर्वक प्रश्न उठाइएको छ ।

https://youtu.be/BnR9SwBwBm4

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update