News 24 Television
लोप हुँदै परम्परागत होली गीत- जोगीरा सरर...

धनुषा । “कौन तालपर ढोलक बाजे कौन ताल मृदङग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सरर... !”

    (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेमभाव भएका होली गीत मासिँदै गएका छन् । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।

मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद किशोरी साह बताउँछन् । उनले भने, “होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । होली मनभित्र रहेको कुण्ठित विचार समाप्त पार्ने पर्व हो ।”

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका ७० वर्षीय बेचन विराजले परम्परागत बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएको चित्त बुझेको छैन । उनी भन्छन् “पहिले गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकोबारे जोगिरा गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउनेहरु नै नहुँदा न ढोल र मृदङ्ग  बज्छ, न त फागुगीत नै गाइन्छ ।”

“यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्न्”, वर्षौंदेखि जोगिरा गाउँदै आएका महेन्द्रनगरका ७२ वर्षीय पचकौरी साह भन्छन्, “मेरा समूहका धेरै साथीको परलोक पुगिसके, कोही थलिएका छन् । गीत गाउने रहर अझै छ तर साथ दिने कोही छैनन ।” 

वसन्तपञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘!!
जोगिरा..सररर..!!’

(कसको हातमा सुनजडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुनजडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा निकै कम गाइन्छ । होलिया (फागु गीत गाउने गायक)का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोपहुँदै गएपछि फागुपर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।

सामाजिक छुवाछूत, ठूला साना जात र भिन्नभिन्न धर्मसंस्कृति नभनी एकअर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोपहुँदै गएर पछिल्लो समय होलीमा ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएकोमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गरे ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभइ होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । मथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व सुरु हुने यहाँको परम्परा छ । 

जनकपुरधाम–१२ का सतीशलाल कर्णका अनुसार होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीत आएकाले होलीमा माधुर्य र प्रेमभाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update