News 24 Television
सवारी दुर्घटनाको डरलाग्दो रूप, के कारण बढिरहेछन् दुर्घटना ? 

काठमाडौं । नेपालमा साना–ठूला सवारी दुर्घटना नभएको दिनै हुँदैछ । सडक सवारी दुर्घटनामै परि हरेक दिन औषतमा ६ जनाको मृत्यु हुने गर्छ । सवारी दुर्घटनामा परि अनाहकमा ज्यान गुमाउनु पर्ने दयनीय अवस्थालाई मानव अधिकारका दृष्टिसमेत असामान्य मानिन्छ ।

यस्ता दुर्घटना पछाडीका वास्तविक कारण के हुन् त ? सवारी दुर्घटनालाई सरकारले यसरी सामान्य रुपमा लिन मिल्छ ? नागरिकको ज्यानको सुरक्षामा कहाँ कहाँ कसरी चुकिरहेको छ सरकार ? 

नेपालमा हरेक दिन साना ठुला गरि दर्जनौं दुर्घटना भइरहेका हुन्छन् । दैनिक औषतमा ६ जनाको मृत्यु सडक सवारी दुर्घटनाकै कारण हुने गर्छ । यस्तो भयंकर अवस्थाको पछाडीका कारण पनि थुप्रै छन् । यहाँ पछिल्लो दुई दिनमा घटेका सवारी दुर्घटनाको अवस्था हेरौं ।

दुर्घटना नम्बर १
–    अछामको मेल्लेख गाउँपालिकामा सोमबार ट्रयाक्टर दुर्घटना 
–    ट्रयाक्टरमा सवार ५ जनाको मृत्यु, तीन जना घाईते 

दुर्घटना नम्बर २ 
–    आइतबार मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ बाघ धारामा बस दुर्घटना 
–    हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ३ ख ५६५७ नम्बरको खाली बस दुर्घटना 

दुर्घटना नम्बर ३
–    आइतबार हुम्लामा ००१ ज ११८३ नम्बरको बोलेरो जीप दुर्घटना 
–    दुर्घटनामा २ जनाको मृत्यु, ६ जना घाइते 

यति मात्रै होइन देशभरमा मोटरसाइकल दुर्घटना त दिनहुँ दर्जन बढी हुन्छन् । 

अब हेरौं सडक दुर्घटनाको ग्राफ

 आव २०७५/०७६   –    १३ हजार ३ सय ६६ सवारी दुर्घटना  –   दुई हजार ७ सय ८९ जनाको मृत्यु
 आव २०७७/७८    –    २० हजार ६ सय ४० सवारी दुर्घटना  –   दुई हजार ५ सय जनाको मृत्यु
 आव २०७८/७९    –    २४ हजार ५ सय ३७ सवारी दुर्घटना  –   दुई हजार ८ सय ८३ जनाको मृत्यु
 आव २०७९/०८०  –    २३ हजार ५ सय ९७ वटा सवारी दुर्घटना  –  दुई हजार ३ सय ६८ जनाको मृत्यु
चालू आव २०८०/८१ को हालसम्म  –   १४ हजार ५ सय ३७ सवारी दुर्घटना  –   १ हजार ३ सय ३ जनाको मृत्यु

प्रहरी अनुसन्धानले देखाएअनुसार सडक दुर्घटनाका कारणहरु 
–    मानवीय कारणले पनि धेरै सडक दुर्घटना 
–    मदिरा सेवन गरेर तथा अत्यधिक थकानको अवस्थामा गाडी हाँक्नु 
–    चालकको मानसिक स्वास्थ्यमा समस्या
–    रिसाहा स्वभाव, दक्षता र सडक सुरक्षाको ज्ञानको अभाव 
–    उत्तेजक हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु 
–    मोटरसाइकल सवार सबैले हेल्मेट नलगाउनु वा सही तरिकाले नलगाउनु
–    सवारी साधन चलाउँदा मोबाइलको प्रयोग
–    तीव्र गति, अनावश्यक कुराकानी र सङ्गीतको चर्को स्वरबाट ध्यान विचलित हुनु
–    साँघुरो सडक र अव्यवस्थित सडक 
–    फितलो ट्राफिक चेकजाँच र ट्राफिक नियम उल्लंघन
–    सडक संरचना राम्रो नहुनु आदि ।

धेरै दुर्घटनाहरु मानवीय कारणले नै भइरहेका छन् । त्यसैले पनि सरोकारवालाहरुले दुर्घटना न्यूनीकरणका लागि आवश्यक रणनीति अपनाउन सरकारको ध्यानाकर्षण पनि गराउँदै आएका छन् । 

सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष सडक दुर्घटनाकै कारण औषतमा तीन हजार जनाले ज्यान गुमाउने गरेको प्रहरीको तथ्यांक छ । मुख्यतया दुईपाङ्ग्रे र यात्रुवाहक सवारीसाधन दुर्घटना भई मृत्यु हुने संख्या बढ्दै गएको छ । त्यसैले सुरक्षित सडक निर्माण राज्यको प्राथमिकतामा पर्नै पर्ने देखिन्छ । सरकारले सडक बनाउने काम मात्र गर्दा सुरक्षित सडक निर्माणमा त्रुटि रहेको विष्लेषण हुने गरेको छ ।

त्यसो त सरकारले हवाई र सडक दुर्घटनामा मृत्यु भएका नागरिकमाथि विभेद गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । हवाई दुर्घटना हुँदा सरकारले तत्काल मन्त्रिपरिषद् बैठक डाँकेर जाँचबुझ आयोग गठन गर्ने तर सडक दुर्घटनालाई सामान्य रुपमा लिने ? यो प्रवृति कहिलेसम्म ?

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update