News 24 Television
सत्ता र ओलीको टकराव, ओमप्रकाश र दीपक संघर्ष अर्कै !

काठमाडौँ । गत भदौमा नयाँ सरकार बनेसँगै सरकार र सरकारका पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुबीचको संघर्ष बढेको छ । नयाँ सरकार बनेपछि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीहरुको सम्पत्तिमाथि छानविन थालिसकेको छ । यस्तैमा सरकार र पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुबीच संघर्ष चुलिएको हो । आफूमाथि अनुसन्धान गर्ने भनेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली फायर भएका छन् । उनले आफूमाथि अनुन्धान र नियन्त्रण गरेर देखाउन खुला चुनौती नै पेश गरिरहेका छन् । 

सार्वजनिक ओहोदा दुरुपयोग गरि गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी संयोज पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्रीहरु आरजु राणा तथा दीपक खड्कामाथि पनि विभागले छानविन बढाएको छ । तर अनुन्धानमा तानिएका सबै पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुले भने आफूले कहि कतै भ्रष्टाचार नगरेको दावी गरिहेका छन् । तर उता सरकार भने उनीहरुमाथि कुनै हालतमा छानविन गर्ने अडानमा देखिएको छ । गृहमन्त्री आमेप्रकाश आर्यालले ओलीको अभिव्यक्तिमा जवाफ फर्काउँदै उनी कानूनभन्दा माथि नरहेको टिप्पणी गरेका छन् । विगतमा ओली नेपालको कानूनभन्दा माथि रहेको भएपनि अब भने त्यो नरहने गृहमन्त्रीको भनाइ छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलपछि बनेको नयाँ सरकारले अघिल्लो सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति छानविनको लागि विशेष तयारी गरेको अवस्था छ । नयाँ सरकार निर्माणका आधार रहेका जेनजीहरुले पनि सरकारमा लामो समय रहेका नेताहरुको सम्पत्ति छानविन गरिनुपर्ने अडान राखेका छन् । 

ओमप्रकाश र दीपक संघर्ष अर्कै 

केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले अनुन्धान हुने भएपछि पूर्वमन्त्री दीपक खड्काले देश छाडेर भागेको भनेर समाचार माध्यमलाई अन्तरवार्ता दिएपछि खैलाबैला मच्चिएको थियो । तर सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भन्दै प्रश्न गरेपछि यो विषयले अर्को मोड लिएको छ । यसपछि सरकार र पूर्वमन्त्री खड्काकै विषयलाई लिएर अनेकन टिप्पणी सुरु भएका छन् । 

कतिपयले गृहमन्त्रीले ढाँटेको तथा प्रहरी संगठनबाट गलत रिपोर्टिङ भएको भनेर प्रश्न गरेका छन् । तर यो सवालमा गृहमन्त्री स्वयमले भने आफूले अन्तरवार्ता दिएको बेला मन्त्री खड्का भारतमा रहेको भनेर जिकिर गरेका छन् । 

गृहमन्त्रीको अन्तरवार्ता पछि नै दीपक खड्काले बूढानीलकण्ठबाट पत्रकार सम्मेलन गरेर आफू नभागेको प्रष्टिकरण दिएपनि उनी देश छाडेर भागेको वा नभागेको भन्नेबारेमा अझै प्रस्ट हुन सकेको छैन । गृहमन्त्रीको भनाइ नै आधिकारिक मान्ने हो भने पूर्वमन्त्री खड्का स्थलगत रुपमै नेपालबाट भारत गएका थिए । र, उनी गृहमन्त्रीको खुलासापछि नै नेपाल आएको रुपमा लिइएको छ । त्यसपछि नै खड्काले नेपालमै रहेको भनेर देखाउन पत्रकार सम्मेलन गरेको बुझिन्छ । तर यो विषय अझै प्रमाणित भइनसकेको अवस्थामा गृहमन्त्री अर्याल र पूर्वमन्त्री खड्को अभिव्यक्ति बाझिएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update