News 24 Television
आयोगले कारबाही गर भन्न सक्दैन, हामी अदालत जान्छौँ : अनुसन्धान अधिकारी

काठमाडौं । सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले कारबाहीको सिफारिस गरेका अनुसन्धान अधिकारीहरु अदालत जाने तयारीमा छन् । ६१ किलो सुन तस्करी प्रकरणका अभियुक्तहरुको संलग्नताको विषयमा दिएको बयानको कागज च्यातेर उन्मुक्ति दिएको भन्दै सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यसहित चार प्रहरी अधिकृत कारबाहीका लागि सिफारिस भएका थिए । 

सुन तस्करीमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्ने भन्दै गठन भएको जाँचबुझ आयोगलाई कारबाहीका लागि सिफारिस गर्न सक्ने कार्यादेश नभएको भन्दै उनीहरुले अदालत जाने तयारी गरेका हुन् । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले सुन तस्करी सम्बन्धी अनुसन्धान कार्यमा प्रत्यक्ष संलग्न सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यसहित एसपी सञ्चय थापा र डीएसपीद्वय दुर्गा दाहाल र रुगम बहादुर कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको थियो । 

कारबाहीका लागि सिफारिस भएलगत्तै प्रहरी प्रधान कार्यालयले एआइजी बज्राचार्य, एसपी थापा र डीएसपीद्वय दाहाल र कुँवरलाई हेडक्वार्टरमा तानिसकेको छ । आयोगलाई अनुसन्धान अधिकारीमाथि कारबाहीका लागि सिफारिस गर्न सक्नेसम्मको कार्यादेश नभएको भन्दै कारबाहीमा सिफारिस भएका अधिकारीहरूले अदालत जाने तयारी गरेका छन् । 

कार्यादेशमा सुन तस्करीमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान गर्नुपर्ने भएमा थप अनुसन्धान गर्न र कारबाहीका लागि सिफारिस गर्ने भनिएको छ । यता गृहमन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा कसलाई कस्तो कारबाही गर्ने भन्नेबारे अध्ययन गर्न समिति बनाएको छ । तर, यो प्रहरी संगठनमाथि आक्रमण भएको पूर्व उच्चप्रहरी अधिकारीहरूले महसुस गरेका छन् । 

चार प्रहरी अधिकृतहरूले सुन तस्करीका मुख्य अभियुक्त अछामका जीवन चलाउनेलाई बयान गराएर पनि भगाएको आरोप आयोगले लगाएको छ । सीआईबीमै गएर बयान दिएका व्यक्ति चलाउनेलाई भगाएकोदेखि कृष्णबहादुर महरालाई समेत उन्मुक्ति दिएर गम्भीर गल्ती गरेको आयोगले औंल्याएको थियो । अनुसन्धानको क्रममा केही त्रुटि रहको हुन सक्ने भएपनि शंकाको सुबिधा जहाँ पनि लागू गर्न नहुने पूर्वडीआईजी अधिकारी बताउँछन् । कारबाहीका लागि सिफारिसमा परेका प्रहरीहरू अदालत जाँदा जाँचबुझ आयोगको प्रतिवेदनमाथि पनि प्रश्न अधिकारीको तर्क छ ।  

प्रतिवेदन कार्यान्वयनको चरणमा प्रहरी अधिकारीहरूमाथि तत्कालै कारबाही भए पनि तस्करीमा संलग्न बाँकी आरोपितहरू र प्रमाण नष्ट गर्न सफल जीवन चलाउनेभन्दा अगाडिको अनुसन्धान कसरी अघि बढ्छ भन्नेमा गृह तथा प्रहरी प्रशासनले कुनै संकेत गरेको छैन । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन र भेपमा लुकाएर २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुनबारे ब्युरोले पुनः अनुसन्धान गर्ने भएको छ । 

तर, डीएसपीद्वय दुर्गा दाहाल र रुगम बहादुर कुँवरमा मात्रै अनुसन्धान केन्द्रीत गर्दा पनि यस प्रकरणका धेरै तथ्य फेला पर्ने प्रहरी अधिकारीहरू नै बताउँछन् । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update