
काठमाडौं । विगत १९ वर्ष यता सरकारले विद्यालय भर्ना अभियान नै चलाइ बालबालिकालाई शिक्षाको पहुँचमा पु-याउने काम गरिरहेको छ । सरकारी तंथ्याक अनुसार विद्यालय जाने विद्यार्थी संख्या ९६ प्रतिशत छ । तर यो संख्या कक्षा १० सम्म आइपुग्दा भने आधा भन्दा बढीले घट्ने गरेको छ ।
विद्यार्थीहरुले यसरी विचमै पढाई छोड्ने अवस्था किन आयो त ? यस समस्याबारे के भन्छन् विज्ञहरु ? यस्तो समस्या समाधानका लागि सरकारसँग के छन् त योजना ?
माध्यमिक तहको पढाईमै बीचैमा विद्यालय छोड्ने समस्या नेपालमा डरलाग्दो बन्दै गएको छ । ४१ जिल्लाका ५० प्रतिशत कम विद्यार्थी कक्षा १० को अन्तिम परीक्षासम्म पनि नपुगेको तथ्यांकले बीचैमा पढाई छोड्ने आर्थात ड्रपआउटको समस्या गम्भिर बनिरहेको पुष्टि गर्छ ।
शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले निकालेको फ्लास रिपोर्टका अनुसार १० वर्ष अघि अर्थात २०७० सालमा कक्षा १ मा ९ लाख ४८ हजार २ सय ९४ जना विद्यार्थी भर्ना भएका थिए । तर यस बर्षको एसईई परीक्षामा ४ लाख ७५ हजार १ सय ३४ जना विद्यार्थी मात्र सामेल भए ।
२०७० सालमा भर्ना भएका ४ लाख ७३ हजार १ सय ६० विद्यार्थी विचैमा पढाई छाडेका छन । कक्षा १० को अन्तिम परीक्षामा ५३ प्रतिशत विद्यार्थी मात्र सामेल भए ।
कुन–कुन जिल्लामा छ ड्रप आउटको समस्या ?
– कोशी प्रदेशका ताप्लेजुङ र खोटाङ
– मधेश प्रदेशका ५ जिल्ला बारा, पर्सा, सर्लाही, महोत्तरी, रौतहट
– वाग्मती प्रदेशको सिन्धुपाल्चोक
– गण्डकीको मनाङ
– लुम्बिनीका रोल्पा, गुल्मी, रुकुम पूर्व, प्यूठान, कपिलवस्तु
– कर्णालीका रुकुम पश्चिम, हुम्ला, जाजरकोट
– सुदुरपश्चिमका डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी लगायतका
विद्यार्थीले यसरी बीचैमा पढाई छोड्ने अवस्था र यो अवस्था आउनु पछिका कारणबारे के भन्छन् त शिक्षाविद् । बीचैमा पढाई छोड्ने समस्या प्रति संसदमा पनि आवाज नउठेका होइनन् ।
देशमा शैक्षिक संकटकालको अवस्था रहेको भन्दै सांसदहरुले १० कक्षासम्म विद्यार्थीलाई टिकाउने योजना के छ भन्दै शिक्षा मन्त्रालयलाई प्रश्न गरेका थिए ।
संसदमा उठेका प्रश्नको जवाफमा शिक्षामन्त्री सुमना श्रेष्ठ भने विद्यार्थी घट्नुमा शिक्षा मात्रै नभएर बसाईसराई, आर्थिक, सामाजिक विषयले पनि प्रभाव पारेको बताउछिन् । यद्दपी, सरकारले यस समस्या समाधानका लागि योजना बनाइरहेको उनको भनाई छ ।
पढाई बीचैमा छोड्ने समस्या आजको होइन विगत २० वर्ष यताको तथ्यांक हेर्दा यो समस्या बढ्दो क्रममा देखिन्छ । यद्दपी पछिल्ला वर्षहरु यो अनुपात थप उच्च हुँदा यसले शिक्षा क्षेत्र मात्रै होइन बालबालिकाको भविष्यमा पनि गम्भिर प्रभाव पार्ने शिक्षा क्षेत्रका जानकारहरुको भनाई छ ।
यस्तो अवस्थामा सरकारले बीचैमा पढाई छोड्ने समस्या समाधानका लागि सुष्म अध्ययन र गहन विश्लेषण गर्दै प्रभावकारी योजना तत्काल कार्यान्वयनमा ल्याउनु आवश्यक देखिन्छ ।