News 24 Television
एमाले र ओलीभित्र छुट्टै चालमाल ! देउवाको हुनसक्छ वेहाल !

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सहयात्री एमालेसँग आशंकित रहेको छ । सत्ता सहकार्यको अन्तिम समयमा पुगेपछि एमालेले धोका दिन्छ भन्ने शंका कांग्रेसमा डरको रुपमा देखिन्छ । 

अझं, विद्या भण्डारीको सक्रिय राजनीति र केपी ओलीलाई रिप्लेस गर्ने स्थिति बनेमा कांग्रेसले धोका पाउने भन्ने मत बलियो देखिन्छ । के ओलीको  अबको गति यहि होला   त ? के यो विषयले सार्थकता पाउला ? के छन् सम्भावना ?

कांग्रेस–एमालेले सत्ता सहकार्य गरेको एक वर्ष पुगेको छ । उनीहरुबीचको समझदारी अनुसार भन्ने हो भने अब अर्को एक वर्ष बाँकी हँुदै गर्दा कांग्रेसमा एमालेको कार्यशैलीसंगका असन्तुष्टी बलिया बन्न थालेका छन् । कांग्रेस नेताहरुले भनिरहेका छन्, एमाले सरकार निर्माण गर्दा गरेको सात बुँदेमा जिम्मेवार देखिएन् । सरकारको काम कारबाही पनि चित्त बुझाउन सक्ने छैन् । 

कांग्रेस नेताहरुले यति भन्दै गर्दा संस्थापन पक्षले भनिरहेको छ कि गठबन्धनका विकल्प छैनन् । अनुशासनको अभाव पार्टीमा देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पनि एमालेप्रति नकारात्मक बनिसकेका छैनन् । उनले प्रधानमन्त्री केपी ओलीलाई भरोसा गर्नुपर्ने बाध्यता पनि छ । 

पालो आएको दिन प्रधानमन्त्री भइ त हाल्छु भन्ने ठानेका देउवाले पार्टी महाधिवेशन, आगामी नेतृत्व र कांग्रेस राजनीतिमा आफ्नो वर्चस्वको सवाललाई समेत केन्द्रमा राखेर काम गर्ने कुरा स्वभाविक जस्तो बन्न पुगेको छ। यस्तोमा देउवालाई दबाब भने बढ्न थालेको छ । 

एमाले सत्ता गठबन्धनप्रति इमान्दार बन्न नसकेको आरोप लगाइरहेका कांग्रेस नेताहरुकै कारण देउवालाई एकखाले सकस भने पक्कै देखिन्छ । 

कांग्रेसमा औपचारिक रुपमै ओली नेतृत्वको सरकारमाथिका प्रश्नलाई खुला रुपमा उठाउने गर्न थालिएको छ। यसले सत्ता सहकार्यको डोरी कमजोर मात्रै बन्न पुगेको छैन्, कांग्रेसमा वामपन्थीहरु एकजुट हुने डर पनि उत्तिकै देखिन्छ । जुन कुराको प्रतिक्रिया नेताहरुले दिइरहेका छन् ।

बैठकमा पनि चिन्ता

कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत वामपन्थीहरु मिल्ने र कांग्रेसलाई धोका हुने चर्चा चलिरहेको छ । नेताहरुले बोल्नेक्रममा वामपन्थीहरु मिल्ने अनि निर्णायक रुपमा सत्ता नेतृत्व लिने बेला धोका हुने आवाज उठिरहेका छन् । जुन कुरा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाले पनि केहि संकेत गरिरहेको छ । 

छरपष्ट जनमतसहित रहेका वामपन्थी दलहरु मिलेमा कांग्रेसको हैसियत नेकपाकालकै जस्तो हुनेमा नेताहरु त्रसित देखिन्छन् । 

यो त्रास सभापति शेरबहादुर देउवालाई पनि नभएको होइन् । यसकारण नै उनले माओवादी केन्द्रसंग चुनावी तालमेल गर्दै एकताका विषयका सहमति सम्झौता टारिदिने गरेका छन् । तर, देउवा यहि कारण आलोचनामा समेत पर्ने गर्छन् । माओवादीसंग मिलेर निर्वाचन लड्ने अनि एमालेसंग मिलेर सरकार बनाउने भन्नेसम्मका प्रश्नको समेत सामना देउवाले गरिरहनु परेको स्थिति छ ।

विद्यादेवीको इन्ट्रीले कांग्रेसलाई तनाव

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएसंग कांग्रेसमा एकखाले तनाव र वेचैनी देखिन्छ । वामपन्थी दलहरु भण्डारी नेतृत्वमा आएपछि मिल्नेमा उनीहरुको त्रास बढि देखिन्छ । 

कम्तिमा पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पहिलो लटमै एकतामा जाने कांग्रेसमा बुझाई रहेको छ । 

भण्डारी अध्यक्ष हुँदा माओवादी केन्द्र पनि सहजै एकतामा जाने खतरा रहनेमा कांग्रेस नेताहरुको धारणा देखिन्छ । 

भण्डारीको पछिल्लो चीन भ्रमण र त्यहाँबाट फर्किएको केहिदिनमै पार्टी सदस्यता नविकरणको सार्वजनिक सन्देश प्रवाहलाई कांग्रेसले गम्भीर रुपमा लिएको देखिन्छ । 

यसरी हेर्दा भण्डारी एमालेमा अध्यक्ष बनेमा कांग्रेसलाई हानी हुने ठानिएकै कारण पनि अहिले नै सत्ता सहकार्यमा विचार गर्नुपर्ने सम्मका आवाज उठ्न थालेको देखिन्छ । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update