News 24 Television
प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन ! 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट नेपाल फर्किएका छन् । संयुक्त राष्ट्रसँगको कार्यक्रममा सहभागि भएर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको साक्षात्कारलाई छल्दै बाहिरिएका छन् । 

अन्य समयमा खुलेर जवाफ फर्काउने ओलीले यस पटक विमानस्थलमा प्रश्नको सामना गर्न किन चाहेनन् त ? चासो बढेको छ । 

प्रधानमन्त्री केपी ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग  लिई शुक्रबार नेपाल फर्किएका छन् । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले  विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । 

प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरे । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए भने युरोपमा रहेका नेपाली समूदायसंग पनि भेटवार्ता  गरे । 

त्यो भेटमा ओलीले नेपालमा लगानी गर्न समेत अपिल गरे । स्पेनबाट फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले लगायतले स्वागत गरेका थिए ।

स्पेनबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुले समेत कुरिरहेका थिए । तर, ओली मिडिया कक्षतर्फ नगई सिधै बालुवाटारतर्फ हानिए । प्रधानमन्त्री ओली इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४) का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा यही असोज १४ गते त्यसतर्फ गएका थिए ।

किन तर्किए ओली

प्रधानमन्त्री केपी ओलीले स्पेनमा के–के गरे ? स्पेन भ्रमण मुलुकका लागि कति फलदायी भयो ? यसबाट नेपालले लिने लाभका आधार कस्ता रहे ? तमाम प्रश्नको सार्वजनिक जवाफ दिनुपर्नेमा ओली तर्किए । विमानस्थलको मिडिया कक्षमै नगई ओली बालुवाटार हानिएपछि त्यहाँ परराष्ट्रसचिव अमृत राईले बिफ्रिङ गरे । 

राईले सुनाएका विषय कर्मचारीस्तरबाट आएपनि त्यसमा उठ्न सक्ने प्रश्नहरुको सामना ओलीले गर्नुपथ्र्यो । नेपाली जनताको श्रम पसिनाको मेहेनतबाट उठेको रकमबाट स्पेन गएका ओलीले सार्वजनिक प्रश्नको जवाफ दिनुपर्ने दायित्व समेत पुरा नगरि सुटुक्क बालुवाटार आएपछि यसबारे अनेक टिप्पणी हुन थालेका छन् । 

मुलुकको लोकतान्त्रिक व्यवस्थालाई सवल बनाउन सधैं पहरेदार बनिरहेका पत्रकारहरुलाई अपमानको शैली देखाएर ओलीले यसरी सुटुक्क निस्किनुका केहि कारण यस्ता छन् । 

१ . पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले नेतृत्वको दौडमा तीव्र गतिमा हुनु 

२. आफू नेतृत्वको सरकारमा रहेका साना दलहरुले समर्थन फिर्ताको निर्णय लिनलाई स्वदेश फिर्ताको मौका कुर्नु 

३. संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती विधयेकमा अनाधिकृत छेडखानी हुनु  

४. राजनीतिक रुपमा प्रतिशोध साँधेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चलाएको हस्ताक्षर अभियानमा कलाकारदेखि धेरैको सक्रिय उपस्थिति हुनु 

५. एमालेमाथिका सार्वजनिक प्रश्न र पार्टी सञ्चालनमा देखिएका प्रष्ट गुट र दुई लाइन संघर्षका रेखाहरु प्रष्ट हुँदै जानु 

यस्ता कारण ओलीले प्रश्नको सामना गर्नुको सट्टा सुटुक्क बाहिरिएको चर्चा चलिरहेको छ । तर, ओलीलाई सबैभन्दा पेचिलो प्रश्न भने विद्यादेवी भण्डारीको सक्रिय राजनीति र संघीय निजामती विधयेकको अनाधिकृत छेडखानी नै रहेको बताइन्छ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update