News 24 Television
समस्याग्रस्त सहकारीको रकम दामासाहीमा फिर्ता गर्न सुरु

 काठमाडौँ । समस्याग्रस्त सहकारीमा सूतिकृत भएकामध्ये १९ सहकारीका ५६ हजार १ सय ६ जना बचतकर्तालाई दामासाही रूपमा २९ करोड ८२ लाख ८ हजार रुपैयाँ फिर्ता गर्न थालिएको छ । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले बचत फिर्ताका लागि लामो समयदेखि निरन्तर आन्दोलन र संघर्षका कार्यक्रम गर्दै आएपछि सहकारी संचालकहरुलाई दवाव परेर उनीहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निश्चित रकम जम्म गरिदिएकाले त्यही रकम दमासाही रुपमा वितरण गर्न लागिएको हो ।

समितिले समस्याग्रस्त घोषीत भई र रकम जम्मा गरेका १९ वटा सहकारी संस्थाका करिब ५६ हजार बचतकर्तालाई दामासाहीमा रकम फिर्ता गर्न लागेको हो ।

पिडितहरुको केही रकम फिर्ता हुन लागेकोमा केही राहत महसुस भएको महासंघका अध्यक्ष कुशलव केसीले बताए । उनले अरु लाखौँ बचतकर्ताको बचत अझै पनि अन्यौलमै रहेकोले खुशी हुने ठाउँ नरहेकाले आन्दोलन जारी नै रहेको स्पष्ट पारे । उनले महासंघको आन्दोलनका कारणले स्थापना भएको सहकारी प्राधिकरण, कर्जा असुली न्यायाधिकरणलाई पनि पूर्णता दिदै सक्रिय बनाउन माग गरे । ती संरचनाहरुलाई सक्रिय नबनाउदा सम्म अन्य सहकारीका बचतकर्ताहरुको बचत अन्यौलमै रहेको उनको भनाई छ ।

महासंघका अध्यक्ष केसीले समस्याग्रस्त घोषित सहकारीमध्ये १९ सहकारीका ६१ हजार ९४ बचतकर्ताले करिब ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बचत फिर्ताको मागदाबी गरेकामा हालसम्म ५ हजार जनाको ३ अर्ब ४१ करोड रुपैयाँ बचत मात्र फिर्ता भएको जानकारी दिए । 

संघीय सरकारले हालसम्म २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त गरिसकेको छ । तीमध्ये गत वर्ष नै तीनवटा सहकारीको बचत फिर्ता भइसकेको छ ।

सहकारीमा रहेको बचत सम्बन्धित सहकारीबाटै असुल गरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको समितिका अध्यक्ष श्रीमणकुमार गौतमले जानकारी दिए ।

‘जुन सहकारी हो, त्यसैको पुँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुल गरी रकम जम्मा गर्छौं । जम्मा भएको रकम वितरण गर्दै जान्छौं,’ अध्यक्ष गौतमले भने ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update