News 24 Television
रुपन्देही– ३ मा रास्वपाको नतिजा कस्तो आउँला ? 

काठमाडौँ । रास्वपाले आफूलाई मुलुकको राजनीति सुधार र सुशासन स्थापनार्थ स्थापित पार्टीका रुपमा दावी गर्दै आएको छ । रास्वपाको मूल एजेण्डा नै बैकल्पिक राजनीतिक दल बन्ने र मुलुकलाई सकारात्मक परिवर्तनको दिशामा लैजाने भन्ने हो । यस्तैमा रास्वपाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै उनको राजीनामा माग गरिरहेको छ । राजीनामा नआएसम्म संसद निर्वाद रुपमा चल्न नदिने चेतावनी दिँदै रास्वपाले गृहमन्त्रीमाथि अनुसन्धान हुनपर्ने अडान छाडेको छैन । 

तर यस्तैमा के रास्वपाले मुलुकको वैकल्पिक दल बन्ने ल्याकत राख्छ ? नेतृत्व आँफै शहकारी ठगी प्रकरणमा जोडिरहँदा रास्वपालाई किन विश्वास गर्ने ? जस्ता प्रश्न आम जनताबाट पेचिलो रुपमा उठिरहेका छन् । शहकारी ठगी प्रकरणमै रास्वपा सभापति रवि लामिछाने झण्डै ३ महिनादेखि रुपन्देही कारागारमा छन् । रविविरुद्ध पाँचभन्दा बढी जिल्लामा सहकारी ठगी प्रकरणको मुद्धा समेत दर्ता भएका छन् । यी कारणले पनि रास्वपामाथि कैयौँ नैतिक प्रश्नहरु उठिरहेका देखिन्छन् । यस्तै अवस्थामा हुन लागेको रुपन्देही – ३ कै उपनिर्वाचनमा रास्वपाले कस्तो मत प्राप्त गर्ला ? भन्ने विषय पनि चर्चाको केन्द्रमा छ । रुपन्देही – ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा को र कस्तो उम्मेदवार उठाउने भन्ने विषयमा रास्वपाले संगठनात्मक रुपमा पनि छलफल अघि बढाएको छ ।

यो क्षेत्रमा रास्वपाबाट ०७९ को आम निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवासँग डडेलधुरामा प्रतिस्पर्धा गरेका सागर ढकालले उम्मेदवारी दिने चर्चा भइरहेका छन् । तर उम्मेदवार छनौटका समबन्धमा रास्वपाले आइतबार बस्ने पार्टी सचिवालय बैठकबाट मात्रै आधिकारिक छलफल अघि बढाउने जनाएको छ ।  

 राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रुपन्देही – ३ मा उपनिर्वाचन हुन लागेको हो । रुपन्देही – ३ लाई रास्वपाको पनि पक्कड क्षेत्र नै मानिन्छ । यसअघिको आमनिर्वाचनमा सो क्षेत्रमा रास्वपाले १४ हजारभन्दाबढी समानुपातिक मत प्राप्त गरेको थियो । रास्वपाले अब अहिलेको उपनिर्वाचनमा कस्तो नतिजा प्राप्त गर्ला निर्वाचन परिणामले देखाउने छ । तर यो उपनिर्वाचन रास्वपाका लागि अर्को एउटा परीक्षणको विन्दू पनि हो । 

रास्वपालाई उपनिर्वाचन कति फाप्यो ?

रास्वपाले ०७९ को आम निर्वाचनमा पहिलो खेपमै संसदको चौँथो ठूलो दल बनेर आफूलाई स्थापित गरायो । अहिले रास्वपाले संसदमा समानुपातिकसहित २१ सांसद दर्ज गराएको छ । यस्तै आमनिर्वाचनपछिका दुई उपनिर्वाचनमा पनि रास्वपाले आफूलाई परीक्षण गरेको थियो । जसमा रास्वपाले मिश्रित परीणाम ल्यायो । रास्वपाले २०८० बैशाखमा भएको उपनिर्वाचनमा तीन क्षेत्रबाट प्रतिसपर्धा गर्यो । 

जसमा बारा – २ मा रमेश खरेल, चितवन –२ मा रवि लामिछाने र तनहुँ – १ मा स्वर्णिम वाग्लेले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये रवि र स्वर्णिमले जित निकाल्दा रमेश खरेल भने पराजित भए । त्यस्तै गतवर्ष भएको दोस्रो उपनिर्वाचनमा इलाम – २ बाट रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको थियो । तर उक्त उपनिर्वाचनमा रास्वपाले जमानत नै गुमाउँदा पार्टीमा अलोकप्रियता बढेको भास्य स्थापित भएको छ । 

यसरी रास्वपाले आम निर्वाचनपछि भएका उपनिर्वाचनमा चार क्षेत्रबाट चुनावी प्रतिपर्धा गर्दा दुईमा जित र दुईमा नराम्रो हार व्यहोर्दा पार्टीप्रति विकर्षण पैदा भइरहेको टिप्पणी हुँदै आएको छन् । यस्तैमा हुन लागेको उपनिर्वाचनमा रास्वपाले कस्तो मत परिणाम ल्याउँला भन्ने आम रुपमै कौतुहलता बढ्दो छ । उता प्रतिपक्षमा रहेर सत्तापक्षमाथि खरो खबरदारी गरिरहेको र सभापति रवि रुपन्देही कारागारमै रहँदा पार्टीप्रति नागरिकले अझ विस्वास गर्ने रास्वपाको अपेक्षा छ । तर रास्वपाको उक्त अपेक्षा यो उपनिर्वाचनबाट कति सम्म पूरा हुन्छ, यो अहिले नै भन्न सकिने अवस्था छैन । 
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update