News 24 Television
बोहोरा परिवारदेखि कुलमान र सागर ढकालको चर्चा 

काठमाडौं । आगामी कात्तिक १७ गतेका लागि तय भएको रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा चुनावी दौडधुरु शुरु भइसकेको छ । ७९ सालको आम निर्वाचनमा राप्रपाबाट निर्वाचित भएका दीपक बोहोराको निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन गर्न लागिएको हो । अघिल्लो पटक काग्रेस र माओवादीबीच गठबन्धन बनेर चुनाव लड्दा एमालेले राप्रपालाई सघाएको थियो । तर यो चुनावमा ठूला सबै दलहरु एक्ला एक्लै लड्ने सम्भावना बढी छ ।

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगले मिति तय गरिसकेको छ । निर्वाचन मिति तोकिएसँगै मतदाता नामावली संकलनको कार्य स्थगित गरिसकिएको छ । 

७९ सालको निर्वाचनपछि विभिन्न ठाउँमा उपनिर्वाचनहरु सम्पन्न भइसक्दा अहिले पटकको सिट जोगाउन नै ठूला दललाई मुश्किल परेको अवस्थामा रुपन्देही ३ को निर्वाचनप्रति सबैको चासो बढेको छ । 

७९ सालमै ठूला दलहरुबीच नै महागठबन्धन बनाएर चुनावी प्रतिष्पर्धा भएको थियो । ७९ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट निर्वाचित दिपक बोहोराको निधनपछि हुन लागेको उपचुनावमा कुन कुन दलले क कसलाई उम्मेदवार बनाउँदैछ भन्ने चासोको विषय बनिरहेको छ । उपनिर्वाचन मिति घोषणा भएसँगै राजनीतिक दलहरुको सरगर्मी बढेको छ । 

उपनिर्वाचनको तयारीमा सबैजसो राजनीतिक दलहरु लागिसकेका छन् । खासगरी राप्रपाले जितेको यो क्षेत्रमा राप्रपाले आफ्नो बिरासत जोगाउन ठूलो चुनौति छ । 

राप्रपाद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन 

स्वर्गीय दीपक बोहोराको यो क्षेत्रमा आफ्नो सिट सुरक्षित गर्न चुनौतिपूर्ण रहेको राप्रपाले उपनिर्वाचन परिचालन समिति गठन गरिसकेको छ । विहीबार मात्रै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको हो ।

निर्वाचन समितिमा प्रदीप उदय, ताहिर अली र निरञ्जन थापा सदस्य छन् । केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचनको आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । यसअघि चुनावकाबेला विरामी भई बोल्नसमेत नसक्ने अवस्थामा रहेका बोहोरा चुनावी मञ्चमा देखिने मात्र गरेका थिए । त्यसैले आफ्नै बलबुताले बोहोराले चुनाव जितेका थिए । 

अब यो सिट जोगाउन रुपन्देहीमा राप्रपाका अरु हस्ती देखिदैनन् । त्यसैले उनकै परिवारका सदस्यलाई राजनीतिमा ल्याउने रणनीतिमा राप्रपा छ । स्वर्गीय बोहोराका दुई श्रीमति, दुई छोरा र एक छोरी छन् । जेठी श्रीमति मञ्जुतर्फका छोरा गौरव र कान्छीतर्फ प्रज्वल छन् । गौरव पेशाले पाइलट हुन् भने प्रज्वल इन्जिनियर । 

गएको चुनावमा दुई छोराहरुका साथै नातिनीहरुले बोहोरालाई साथ दिएका थिए । परिवारको सदस्यलाई नै अघि सारेर सहानुभूतिको भोट बटुल्ने योजना राप्रपाको छ ।  

रुपन्देहीका पराजित उम्मेवार सबै एमालेका आकांक्षी
 
यो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार बन्ने होडमा नेताहरुको दौडधुप केन्द्रमा शुरु भइसकेको छ । आफ्नो टिकट फुत्काउन जिल्लादेखि केन्द्रका नेताहरु लागिरहेका छन् । यो क्षेत्रमा एमालेबाट खिमलाल भट्टराई, दधिराम न्यौपाने, भरत पोखरेल आकांक्षी छन् । भैरहवाको सिद्धार्थ नगरपालिकाका पूवै मेयर हरि आधिकारी पनि लविङमै छन् । तर एमालेबाट खिमलालको सम्भावना प्रवल रहेको स्थानीय नेता कार्यकर्ताको बुझाई छ ।  

कांग्रेसमा संस्थापन र इतर पक्षको लडाईँ 

नेपाली कांग्रेसबाट रुपन्देही ३ को उम्मेदवार फुत्काउन नेताहरुको लविङ तीब्र छ । कांग्रेसका संस्थापन र इतर पक्षका नेताहरु टिकटको जोडबलमा छन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवा पक्षका बालकृष्ण खाँण उम्मेदवार थिए । उनी बोहोरासँग झिनो मतले पराजित भएका थिए । 

उनी भुटानी शरणार्र्थी प्रकरणमा बदनाम भए । उनी भुटानी प्रकरणका आरोपी हुन् । उनीसँगै प्रमोद यादव, बासुदेव घिमिरे, भरत साह, तुलसी प्रसाद चौधरी पनि टिकटको लविङमा छन् । सबैजना गएको निर्वाचनमा रुपन्देहीका विभिन्न क्षेत्रमा उम्मेदवार भई पराजित भएका हुन् । खाँणले पुनः टिकट नपाएको खण्डमा संस्थापन पक्षले शाहलाई अगाडि सार्ने निश्चित छ । 

माओवादीमा कुलमान घिसिङको चर्चा 

रुपन्देहीमा कसले कसलाई उम्मेदवार बनाउने हो, टुंगो लागिसकेको छैन । तर सबै दलमा विभिन्न ब्यक्तिहरुको चर्चा भइरहँदा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणबाट केपी ओली सरकारबाट बर्खास्तीमा परेका कुलमान घिसिङलाई उम्मेदवार बनाउने चर्चा छ । 

अघिल्लो निर्वाचनमा उज्यालो अभियानका नायक भनेर माओवादीले कुलमानको तस्विर बनाएर समाजिक सञ्जालबाट प्रचार गरेको थियो । घिसिङ माओवादीबाट उम्मेदवार बन्न तयार होलान् कि नहोलान्, अहिले नै भन्न सकिने अवस्था भने छैन । 

रास्वपाबाट देउवाका प्रतिष्पर्धी सागर ढकालको चर्चा 

७९ सालको आम चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा चुनाव लडेर चर्चामा आएका सागर ढकाल रुपन्देही ३ को उपचुनावमा लड्ने तयारीमा छन् । यसअघि स्वतन्त्र उम्मेदवार भएका ढकाल यसपाली भने रास्वापको नजिक हुन खोजिरहेका छन् । 

रास्वपाबाट उम्मेदवारको तय भइसकेको छैन । रुपन्देही ३ को उपचुनावमा उम्मेदवार टुंगे लगाउन भन्दै बिहीबार पार्टी कार्यालय वनस्थलीमा सचिवालय बैठक बसेको थियो । बैठकमा योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव पेस भएको छ । यसअघि जस्तै यसपाली पनि सोही सोही विधिमार्फत आइतबारको बैठकबाट उम्मेदवार छनोट गर्ने रास्वपाको तयारी छ । 

चर्चामा रहेका ढकालले समाजिक सञ्जालबाट आफू उम्मेदवार बन्ने संकेत गरिसकेका छन् । चितवन २ मा रविको ५४ हजार १७६ र काठमाडौँमा बालेनको ६१ हजार ७६७ मत रहेको भन्दै बढालले अब करिब ९० हजार मतदाता रहेको रुपन्देही ३ मा ६२ हजार मत पार गरेर नेपालको इतिहास रच्नुपर्ने सामाकि सञ्जालमा लेखेका छन् । यो रुपन्देही ३ को मात्र नभई देशकै चुनाव भएको ढकालको तर्क छ । 

यस्तो थियो ७९ सालको निर्वाचन

गत आम चुनावमा राप्रपाबाट दीपक बोहोराले ३६ हजार ७१७ मत प्राप्त गरी यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँग कांग्रेसका बालकृष्ण खाँण मात्र २ हजार ६ सय ८१ मतले पराजित भएका थिए । 

माओवादीबाट खाँणलाई र एमालेबाट बोहोरालाई नै सहयोग भएको थियो । एमाले र माओवादीका उम्मेदवार नहुँदा बोहरा र खाँण नै मुख्य प्रतिष्पर्धी देखिएका थिए । यो क्षेत्रमा रास्वपाले जितबहादुर गुप्ता तेलीलाई उठाएको थियो । 

यस्तै, जनमत पार्टीबाट प्रमोदकुमार राउत र नागरिक उन्मुक्ति पार्टीबाट तुल्सीप्रसाद थारु चुनावी मैदानमा थिए । दलीय उम्मेदवारसँगै अन्य ११ जना  स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा थिए । राजिव शाही, गुडिया पथरकट्ट, देवराज न्यौपाने, नबाब मुसलमान, नारायणप्रसाद शर्मा, केशव विक्रम खड्का, इशरात अली फकिर, घनश्याम भट्टराई, जीवकान्त काफ्ले, नरेशबहादुर क्षेत्री र रमेश गैरेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update