News 24 Television
फोहोरको रिपोर्टिङमा काठमाडौँ महानगरको निषेध, बाटोमै रोकिए पत्रकार

काठमाडौं । बञ्चरेडाँडामा अव्यवस्थित र अवैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन भइरहेको भन्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् । खानाभन्दा पहिला मुखमा झिङ्गा पसेको गुनासो पनि स्थानीयको छ । 

फोहोरकै कारण अनेक रोग लाग्न थालेपछि गाँउ नै सखाप हुने स्थिती बनिसकेको छ । 

चुनावताका चुट्कीको भरमा समाधान गर्छु भन्दै बोल्ने मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनलाई न वैज्ञानिक बनाउन सके न त स्थानीयसँगको सम्झौता नै कार्यान्वयन गराउन सके । फोहोर व्यवस्थापन र स्थानीयसँग गरिएको सहमतिमा चुकेको काठमाडौँ महानगरले फोहोरको विषयमा सञ्चारकर्मीलाई रिपोर्टिङ गर्न समेत निषेध गरेको छ । 

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले शनिबार बिहान अवरोध गरे । तर प्रहरीले दुई दर्जन स्थानीयलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य बन्यो । 

११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएको मागको सुनुवाइ नभएपछि शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाइएको स्थानीयको भनाइ छ । तर शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको स्थानीयको आरोप छ । 

केही दिनअघि मात्रै कांग्रेस नेता तथा सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

स्थानीयले आन्दोलनको कार्यक्रम गरेपछि केसी ऐक्यवद्धता जनाउन शनिवार बञ्चरेडाँडा पनि पुगेका थिए । 

केसी पुग्नु अघि नै सञ्चारकर्मी समेत बन्चरेडाँडा पुगिसकेका थिए । तर सञ्चारकर्मीलाई डम्पिङसाइट प्रवेश दिइएन । 

आफूलाई महानगरको कर्मचारी बताउने केही युवाहरूले सञ्चाकर्मीमाथि आक्रमणको प्रयास पनि गरेका थिए । 

सञ्चाकर्मीलाई प्रवेश गर्न नदिए आफू पनि डम्पिङसाइट नजाने भन्दै केसी गेटमा नै धर्ना बसे । 

उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने भन्दाभन्दै फोहोर फाल्ने क्षेत्रमा मानवीय स्वास्थ्यमा ठूलो समस्या देखा पर्न थालिसकेको स्थानीयको गुनासो छ । 

फोहोरका कारण नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्र उजाड बन्दै गइरहेको छ । फोहोर व्यवस्थापनको जिम्मेवारी लिएका सरोकारवाला निकायहरु फोहोर व्यवस्थापनप्रति चिन्तित छैनन् ।

स्थानीयसँग बारम्बार गरिएका सम्झौताहरू कार्यान्वयनमा कसैले पनि इमानदारिता नदेखाएको भन्दै स्थानीय आक्रोशित छन् । 

उपत्यकाको फोहोरकै कारण सो क्षेत्रमा मानिसदेखि पशुपक्षी र खेतीपातीमा समेत विभिन्न रोग लाग्ने प्रकोप नै फैलिएको छ । 

फोहोरको दूषित गन्ध हावामा मिसिदाँ अधिकांसको श्वासप्रस्वासमा समस्या देखिन थालेको छ । 

फोहोरकै कारण यस क्षेत्रको सामाजिक संरचना समेत बिग्रिन थालेको छ । फोहोर गाउँको परिचय बनाएको यस क्षेत्रका युवाहरुले विवाहका लागि युवती नै नपाउने समस्या समेत छ ।  

सरकारले फोहोर व्यवस्थापनको वैज्ञानिक उपाय अवलम्वन गर्न नसक्दा वा गर्न नचाहँदा सिसडोल र बञ्चरेडाँडामा मानव स्वास्थ्यमाथि खेलबाड त गरेको छ नै मान्छेको बाँच्न पाउने नैसर्गिक अधिकारमाथि पनि निर्मम हमला गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update