News 24 Television
नेपालको स्वास्थ्य क्षेत्रमा अनुसन्धानको खाँचो

काठमाडौं । कुनै पनि क्षेत्रको निति निर्माण तय गर्न होस् वा योजना कार्यान्वयन गर्न नै किन नहोस् अनुसन्धानको महत्वपूर्ण भूमिका हुन्छ ।

यहि विषयलाई मध्यनजर गर्दै देशको स्वास्थ्य क्षेत्रमा सरकारी वा नीजिस्तरबाट अनुसन्धानका प्रयासहरु नभएका होइनन् । तर स्वास्थ्य भइरहेका अनुसन्धान नाममात्रैको र झारा टार्ने प्रवृत्तिका छन् । त्यसैले पनि अन्य देशको तुलनामा स्वास्थ्य सेवा र पहुँचमा नेपाल निकै पछाडि देखिन्छ । 

स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ समस्या निम्तिने र त्यसको उपचार पद्धतिको खोजी गर्न, समस्या पहिचान र त्यसको समाधानका लागि समेत अनुसन्धानको विशेष महत्व हुन्छ । स्वास्थ्य क्षेत्रमा विशेष गरी दुईथरीबाट अनुसन्धान हुने गर्दछ ।

पहिलो कुनै उपचारको विकास जस्तैः औषधि, खोप, सामग्री सम्बन्धी अनुसन्धान र दोस्रोमा स्वास्थ्य समस्या, प्रणाली, मानिसहरूको स्वास्थ्य सम्बन्धी व्यवहार लगायतका विभिन्न पक्ष र यसमा कसरी परिवर्तन र सुधार ल्याउन सकिन्छ भनेर । 

स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्व व्यापक भएपनि नेपालमा वि.सं. २०४६ साल अगाडि स्वास्थ्य अनुसन्धानको क्षेत्र खासै प्राथमिकताको विषय थिएन । 

त्यस अघि स्वास्थ्य मन्त्रालयको मातहतमा नेपाल चिकित्सा अनुसन्धान समिति मार्फत स्वास्थ्य अनुसन्धान हुने गरेको थियो । तर स्वास्थ्य अनुसन्धानको प्रवद्र्धन र नियमन गर्ने उद्देश्यले २०४८ सालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गठनपछि मात्रै स्वास्थ्यको क्षेत्रमा केहि अध्ययन अनुुसन्धान हुन थालेको हो । तर अझैपनि नेपालको स्वास्थ्य क्षेत्रमा अध्ययन तथा अनुसन्धानले गति भने लिन सकेको छैन । 

हाल सरकारी स्तरबाट सर्ने तथा नसर्ने रोग, रगत सम्बन्धि रोग, एन्टिबायोटिक रेसिस्टेन्स, अस्पतालमा एनआइसीयूको अवस्था लगायत विषयमा अध्ययन अनुसन्धान भएका छन् । तर अहिले पनि धेरै विषयमा भइरहेका अनुसन्धान अन्य देशहरुमा भइरहेका अनुसन्धानकै निरन्तरता बाहेक माथि पुग्न सकेको छैन ।

नेपालमा सम्पन्न भएका अनुसन्धानको अवस्था हेर्ने हो भने प्रायः अनुसन्धान वर्णनात्मक प्रकारका विशेषतः ज्ञान, धारणा तथा व्यवहार पत्ता लगाउने उद्देश्यले मात्र्रै गरिएको देखिन्छ । 

त्यसैले पनि यस्ता सामान्य अनुसन्धानबाट प्राप्त भएका तथ्यले नेपालको स्वास्थ्य नीति र रणनीतमिा कुनै अर्थ राख्दैन । अध्ययन अनुसन्धानमा फड्को मार्न नसक्नुको कारण बजेट अभावलाई पनि प्रमुख समस्या देखाइएको छ । 

नेपालमा स्वास्थ्य अनुसन्धानको लागि स्वास्थ्यमा आएको कुल बजेटको कम्तिमा पनि दुई प्रतिशत बजेट अनुसन्धानको लागि छुट्याउनु पर्ने विज्ञहरुहरुको सुझाव छ ।  

विश्व स्वास्थ्य संगठनले विकासशील देशहरुमा स्वास्थ्य क्षेत्रको अनुसन्धान प्रवद्र्धन गर्न वार्षिक कुल बजेटको २ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउँदै आएको छ । तर नेपालमा यो लागु हुन सकिरहेको छैन । 

त्यसैले नेपालमा स्वास्थ्य अध्ययन अनुसन्धानको दायरा निकै साँघुरो छ । देशका ठूला नीजि अस्पतालहरुले पनि स्वास्थ्यमा अनुसन्धान गर्ने गरेका छन् । तर नीजि अस्पतालहरुले अनुसन्धानको नाममा राज्यबाट विभिन्न किशिमका छुट मात्रै लिने गरेपनि काम भने सिन्को भाँच्ने पनि नगरेको आरोप लाग्दै आएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update