News 24 Television
स्वास्थ्य उपकरण मुलुकभित्रै उत्पादन गर्नुपर्छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन गर्नु आवश्यक भएको बताएका छन् । 

बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको तथ्य उजागर गरे । उनले सरकार र निजी क्षेत्रबाट गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरणहरु आयात हुने गरेको बताउँदै वार्षिक खर्बौं रुपैयाँ विदेश गइरहेको बताए । स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

अहिले मेडिसिन र फर्मा क्षेत्रमा भने मुलुकभित्रै उत्पादन ५० प्रतिशतमाथि रहेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी बढाउनु आवश्यक रहेको मन्त्री यादवले बताए । उनले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसके पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन गर्न सकिने र देशभित्रै बजारको ठूलो सम्भावना पनि रहेको उनको भनाइ छ । 

स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिञ्जमा समेत मुलुक विदेशीकै भर परेको अवस्था रहेको बेला फरच्युना सिरिञ्ज उद्योगले राम्रो बजार पाउने बताए । उनले नेपाली बजार र नेपाली उपभोक्ता, स्वास्थ्य संस्था र अस्पतालहरुमा फरच्युना सिरिञ्जलाई पहिलो प्राथमिकता दिलाइने समेत बताए । स्वास्थ्य उपकरणहरु सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन गर्न राज्य र निजी क्षेत्र लाग्नु जरुरी रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update