News 24 Television
सर्ट फिल्म ‘रित्तो गाउँ’को विषेश प्रदर्शन सम्पन्न

काठमाडौं । नेपाली चलचित्र उद्योगमा नयाँ प्रयोग गरेर बनाइएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय बिभागका प्रा।डा  उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता थियो । 

यस कार्यक्रममा फिल्म निर्माण टिमका सदस्यहरुको पनि उपस्थिती रहेको थियो । रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा गरिएको यस विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात गरेको जनाएको छ ।

आधा दर्जन बढी सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ ।

निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन थालिएको बताए । उनले देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ुरित्तो गाउँु को विशेष प्रदर्शन गरिने जानकारी दिए । 

उनले भने, –‘यो पहिलो प्रदर्शन हो । अब हामी विभिन्न संघ–सस्था, क्लब तथा व्यक्तिहरुसँग सहकार्य गरेर संसारभर यस फिल्मलाई देखाउनेछौं  अहिलेसम्म बुटवल, हेटौडा, जापान, हङकङ, अमेरिका लगायतका स्थानमा प्रदर्शन हुने लगभग निश्चित भएको छ ।’

‘रित्तो गाउँमा’ बरिष्ठ कलाकारहरु हिउँवाला गौतम, सुवास गजुरेल तथा अहिलेका लोकप्रिय अभिनेता मुकुन भुसाल र नव अभिनेत्री सविना राउतको अभिनय देख्न सकिन्छ । 

अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्म २ भागमा छु्ट्टाइएको छ । पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ । 

दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ । आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । फिल्ममा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माता हुन् ।

निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन् । फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनिङको काम भरत कंडेलले गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update