News 24 Television
काठमाडौंमा बस्नै खतरा, अब सास फेर्न मुस्किल !

काठमाडौं । काठमाडौं उपत्यकाको हावाको गुणस्तर पछिल्लो चार दिन यता खतरनाक अवस्थामा पुगेको छ ।  पछिल्लो चार दिनदेखि काठमाडौं उपत्यकाको वायुको स्थिति विश्वकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा देखिन्छ ।  यसरी हेर्दा हरेक वर्ष नेपालको वायुको गुणस्तर खस्कदै घातक बन्दै गएको छ । तर, पनि यसको न्यूनीकरणमा प्रभावकारी काम भएका भने देखिदैनन् । 

काठमाडौं उपत्यका पछिल्लो चार दिन यता लगातार विश्वको प्रदुषित शहरको सूचीको पहिलो स्थानमा छ । गत शक्रवार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क एक्यूआई हेर्दा १ सय ८६ थियो भने शनिवार १ सय ७ं२, आइतवार १ सय ५८ मा देखिएको थियो । सोमबार १ सय ७० देखिएको छ । जनस्वास्थ्यको हिसाबले १ सय भन्दा बढी ए.क्यू.आईलाई अस्वस्थकर मानिन्छ । तर काठमाडौं उपत्यकाको वायुको गुणस्तर स्वास्थ्यका लागि निकै घातकको अवस्थामा छ । वातावारण विभागको तथ्यांक हेर्दा पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानको वायुको स्थिती खराब नै छ । 

नेपालमा मुख्य गरी जाडो मौसम र अहिलेको सुख्खा मौषममा गरी दुई सिजनमा वायुको गुणस्तर खस्कने गर्दछ । सुख्खा मौषम भनेको चैत र वैशाखलाई लिने गरिन्छ । यो दुई महिना वायु प्रदूषणको मुख्य खतराको सिजन समेत मान्ने गरिन्छ । वायु प्रदूषणले सबैलाई असर गर्ने भए पनि बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको छ । 

सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण बालबालिकामा दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन् । नेपालमा अहिले वायुप्रदुषणको प्रमुख कारण मुलुकका विभिन्न भेगमा भएका डडेलो नै प्रमुख कारण भएको वातावरण विभागको भनाई छ । 

काठमाडौं उपत्यकाको  वायुको स्थिती पछिल्लो केहि वर्ष यता विग्रदो क्रममा छ । जसका लागि सरकारले २०७६ सालको माघ महिनामा काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गरेको थियो । 

वातावरणीय रूपमा दिगो यातायात प्रणाली, उद्योग प्रतिष्ठानबाट हुने उत्सर्जन, अस्पताल, घरायसी एवं कृषिजन्य फोहोरको वातावरणमैत्री तवरबाट व्यवस्थापन गर्न भन्दै सरकारले कार्ययोजना अघि सारेको पनि छ । तर सकारले बनाइका कार्ययोजना कागजमै सीमित रहँदा आमनागरिकले स्वस्च्छ हावामा श्वास फेर्न पाउँने अधिकारबाट बच्चित मात्र भएका छैनन् । प्रदुषित वायुकै कारण विभिन्न स्वास्थ्य समस्या समेत भोग्न बाध्य बनेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update