News 24 Television
वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाइने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक रहेकाे र यसका लागि सरकारले सबै सहयाेग गर्ने बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको बताए । नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने उनले आश्वासन दिए । उनले आम नागरिकलाई गुणस्तरीय सेवा पुर्याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताए ।

‘नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभुत गरेको अवस्थामा आम नागरिकलाई गुणस्तरीय सेवा पु¥याउन राज्यको प्रमुख भुमिका हुनेतर्फ प्रतिष्ठानको भुमिका महत्वपूर्ण रहनेछ,' उनले भने, 'प्रतिष्ठानले आफ्नो कार्यलाई अझ बढी निरन्तरता दिने, क्षमता बढाउने र उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु । यतिबेला सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ । त्यसैगरी बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा गएको छ । यस्तो बेलामा यो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२  औं स्थापना दिवस सम्पन्न हुँदैछ । म के विश्वास दिलाउन चाहन्छु भने तपाईहरुले यो पटक यहाँ उठाउनुभएको कयौं कुराहरु नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्याउने सरकारको अपेक्षा रहेको बताए । वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने उनकाे भनाइ छ ।  वीर अस्पतालको बिस्तारका लागि बनाइएको दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरूयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update