News 24 Television
वायु प्रदुषणका कारण बिरामी बढे, अस्पतालमा भीड 

काठमाडौँ । केही हप्तायता काठमाडौं उपत्यकासहित देशभर वायुप्रदुषण बढ्दो छ । प्रदुषणका कारण अहिले काठमाडौं उपत्यका लगायत स्थानमा धुम्म तुवालोले ढाकेको जस्तो देखिएको छ । धुवा र धुलोको कण वायुमडलमा मडारिदाँ वायुको स्तर निकै प्रदुषित बन्न पुगेको छ । प्रदुषित हावाका कारण पछिल्लो विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेको संख्या समेत बढेको छ । वायु प्रदुषणले स्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले प्रदुषण नियन्त्रणमा राज्य गभिर हुनु पर्ने र नागरिकले सचेतना अपनाउन चिकित्सकले सुझाएका छन् । 

स्वास्थ्य जीवनका लागि स्वच्छ हावा अरिहार्य हुन्छ । तर पछिल्लो केहि हप्ता यता मुलुकभर वायुप्रदुषण खतरनाक तरिकाले बढेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार केहिदिन अघिसम्म काठमाडौं विश्वकै प्रदुषित शहरको पहिलो सूचिमा थियो । अहिले तेस्रो स्थानमा देखिए  पनि वायुको स्थिति जोखिमपूर्ण नै छ । वायुको स्तर खस्केसंगै यसले मानव स्वास्थ्यमा समेत डरलाग्दो तरिकाले असर पारिरहेको छ । वायु प्रदुषणकै कारण आँखा पोल्ने, घाँटी खसखसाउने, रुघाखोकी, छालामा संक्रमण, कपाल झर्ने जस्ता समस्या अहिले अधिकांशमा देखिन थालको छ । 

अहिले यस्ता समस्या लिएर अस्पताल जानेको संख्यामा पनि बृद्धि भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा श्वासप्रश्वासका बिरामीको संख्या केहि हप्ता यता निकै बढेको छ । अहिले अस्प्तालको बहिरंग सेवा लिन आउँने कुल बिरामी मध्ये ३० प्रतिशत बिरामी वायु प्रदुषणको असरका कारण बिरामी भएको चिकित्सक बताउँछन् ।

अस्पतालमा बहिरंग सेवा लिन आउँने बिरामी मात्र नभएर आकस्मिक कक्ष तथा सघन उपचार कक्षमा समेत बिरामीको चाप बढेको चिकित्सकको अनुभव छ । यसरी अस्पताल पुग्नेमा करिब दुई तिहाइ जतिमा अक्सिजन कम हुने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका छन् । पछिल्ला वर्षहरुमा वायुप्रदुषण निरन्तर बढिरहेकाले तत्काल देखिने स्वास्थ्य समस्या मात्र नभएर दिर्घकालीन रोगहरु समेत देखिन थालेको छ । अहिले प्रदुषणकै कारण फोक्सोको क्यासरका बिरामी बढेको चिकित्सक बताउँछन् । 

वायुप्रदुषणले चुरोट नखाने व्यतिmमा पनि चुरोट खाने सरहकै तुलनामा फोक्सोमा असर गरिरहको चिकित्सकको भनाइ छ । विभिन्न अध्ययनले पनि वायुप्रदुषणका कारण १० मध्ये ५ बालबालिकाको फोक्सो विग्रने गरेको देखिएको छ । वायुप्रदुषणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुदाँ यसको रोकथाम र नियन्त्रणका लागि सरकारले उचित कार्ययोजना बनाउन र लागूगर्न आवश्यक भएको चिकित्सक बताउँछन् । विशेषज्ञहरुका अनुसार लामो समयदेखि पानी नपरेका कारणले वायुमण्डल प्रदुषित बनेको हो । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update