News 24 Television
पानी बाराबार गरेका ओली र माधव एकै लयमा, कोशी र सुदुरपश्चिममा लेनदेन ! 

काठमाडौं । तत्कालीन नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र आ–आफ्नै अस्थित्वमा आएका थिए । ०७४ सालको आम निर्वाचनपनि नेकपाको नेतृत्व गर्दै सरकार संचालन गरेका केपी ओलीको असंवैधानिक कदमले सिर्जाएको द्वन्द्वले नेकपा विभाजित भएको थियो । 

सर्वोच्चले गरेको फैसलाले नेकपा माओवादी र नेकपा एमालेलाई आ–आफ्नै कित्तामा पुग्न बाध्य बनाएको थियो । तर पार्टी विभाजन यतिमा मात्रै रोकिएन । माधव कुमार नेपालले एमाले अध्यक्ष ओलीसँग विमत्ति जनाउँदै आफू नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरे । 

हाल नेकपा एस १० सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको छ । नेकपा विभाजनसँगै एमाले पनि फुटाएका माधव नेपालसँग केपी ओलीको सम्बन्ध पानी बाराबारको स्थितिसम्म पुग्यो । 

नेकपा विभाजनपछि शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो । त्यो बेला एमाले प्रतिपक्षी कित्तामा थियो भने माओवादी र नेकपा एकीकृत समाजवादी सरकारमै थिए । सो बखत पार्टी फुटाएर पारि कित्तामा हामफालेका माधवलाई ओलीले देखिसहेनन् । 

यहाँसम्मकी माधव नेतृत्वको पार्टी नेकपा एकसलाई ओलीले दलको अस्थित्व र मान्यता नै दिएनन् । तर राजनीतिक समयक्रमसँगै हाल ओली र माधव सत्ता साझेदार दलको रुपमा उभिएका छन् ।

०७९ को आम निर्वाचनपछि माओवादी केन्द्र नेतृत्वमा गठन भएको सरकार हालसम्म कायमै छ । यही सरकार कायम राख्न एमाले र काँग्रेसले पालो पालो समर्थन गर्नु परेको स्थिति छ । तर नेकपा एकीकृत समाजवादीले भने दुवै समीकरणमा सरकारलाई साथ दिइरहेको छ । यो अवस्थामा अध्यक्ष माधव नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग बेला बखत असन्तुष्ट रहने गरेका छन् । 

वर्तमान सत्ता गठबन्धनलाई ढालेर प्रधानमन्त्री बन्ने प्रयत्न गरेको आरोप माधव नेपालमाथि बेला बखत लाग्दै आएको छ । गठबन्धन छाडेर आए प्रधानमन्त्री बनाउने आश्वसन माधवलाई यसअघि बाटै काँग्रेसले दिँदै आएको थियो । 

यसबीचमा माधवले गठबन्धन टुटाउने भित्रि प्रयास पनि गरेका थिए । यसको प्रतिविम्बरुवरुप माधवले सरकारप्रति विभिन्न टिप्पणी गर्दै असन्तुष्टिसमेत जनाइरहेका छन् । सरकार ढाल्नेसम्मको प्रयास गरेपछि ओली र माधव बीच दोहोरीसमेत चल्यो । 

तर बैकल्पिक गठबन्धन बनाएर सरकार ढाल्ने योजना बुनिएको सुइको पाएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीको डिजाइन अनुसार जसपा विभाजित गराइएको चर्चा भइरहेको छ । 

जसपा विभाजित भएपछि सरकार समर्थक पक्ष अशोक राई नेतृत्वको जसपाले हाल सरकारलाई समर्थन कायम राखेको छ । उता उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

यो अवस्थामा माधवले ‘बार्गेनिङ प्वाइन्ट’ बनाएर गठबन्धनमा दवाव बनाइरहेका छन् । माधवले काँग्रेस देखाएर सुदुरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाएका थिए । तर एमालेबाट मत प्राप्त गर्ने विश्वस्त नभएपछि सोडारीले लामै समयसम्म विश्वासको मत लिएनन् । यद्यपि उनले बिहीबार  विश्वासको मत लिने तयारी गरेका छन् । 

यसबीचमा सत्तारुढ दल नेकपा एमालेले पनि सोडारीलाई विश्वासको मत दिने मनशाय बनाएको छ । एमाले पार्टी केन्द्रले नै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिने निश्चित भएपछि उनले बिहीबार विश्वासको मत लिने तयारी गरेका हुन् । 

यसअघि सोडारीलाई नेपाली काँग्रेसले पनि आवश्यक परे विश्वासको मत दिन सकिने सन्देश पठाएको थियो । तर हाल आएर सोडारीलाई एमालेले नै मत दिने लगभग निश्चित भएको छ । 

यता कोशीमा एमालेका मुख्यमन्त्रीलाई नेकपा एसले विश्वासको मत दिइसकेको छ । यो सँगै पार्टी विभाजनदेखि सत्ता सहयात्रामै रहँदा पनि गाली गलौजमा उत्रिने माधव–ओलीले सुदुरपश्चिममा पनि प्रत्यक्ष राजनीतिक लेनदेन गर्ने भएका हुन् । 

  यो परिघटनाले माधवप्रति इंगित गर्दै नेकपा एसलाई राजनीतिक दल नै नमान्ने र उनको नाम नै लिदिँन भन्ने एमाले अध्यक्ष ओलीलाई भने गतिलो पाठ सिकाउने छ । 

सुदुरपश्चिममा राजनीतिक लेनदेन सफल भएमा यस परिघटनाले ओली र माधवलाई तत्कालीन नेकपा सँगै एमाले विभाजनप्रतिको पश्चातावबोध र सिकाइको ठोस अनुभूतिसमेत गराउने निश्चित छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update