
काठमाडौं । राजनीतिक दलका नेताहरु पुनः आफ्नो सक्रियतालाई बढाउँदै गएका छन् । मुलुकको व्यवस्थापन राजनीतिक दलबाहेकले गर्नै नसक्ने भन्दै उनीहरुले पुनः सक्रियता बढाएका हुन् । जेनजी आन्दोलनले नेतृत्व परिवर्तनको मागसहितका आवाज उठाइरहेका बेला नेतृत्व छोड्ने छनक भने शीर्ष नेताहरुले गरेको देखिदैन । यद्दपि, केही नेताहरुले भने आवश्यकता अनुसार पार्टीमा परिवर्तन गर्ने भन्दै आएको भने सुनिन्छ ।
जनेजी आन्दोलनपछि केहिसमय चुपचाप जस्तै देखिएका राजनीतिक दलका नेताहरु पुनः सक्रियताका साथ अघि बढि रहेका छन् । उनीहरुका भाषणबाजी, ठाट, चाल, अनि दम्भ पुन पहिलेकै जस्तो झल्किन थालेको छ । उनीहरुको सक्रियता पनि उसैगरि बढेको छ । शीर्ष दलका शीर्ष नेताका पछिल्ला गतिविधि के कस्ता देखिएका छन् त,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
जेनजी आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भयो । घाइते देउवा अहिले पनि उपचार गराइनै रहेका छन् । उनले अहिले कुनै आक्रोश, दम्भ केही देखाएका छैनन् । उनले सहज रुपमा जनआवाजको सम्मान भन्दै सभापतिबाट निष्कृय बन्ने निर्णय लिए र पार्टीमा नेतृत्व हस्तान्तरण गरिदिए । जेनजी आन्दोलनपछि पार्टी नेतृत्व सहज रुपमै हस्तान्तरण गर्ने शीर्ष दलका शीर्ष नेतामा शेरबहादुर देउवा मात्रै एक उदाहरणीय पात्र बनेका छन् । देउवाले जेनजी आन्दोलनपछि कुनैपनि किसिमको आक्रोश, चलाखी र दम्भ देखाएका छैनन् ।
कुनै हालतमा पछि नहट्ने केपी ओलीको हठ, कसैले छुन नसक्ने दम्भ !
नेकपा एमालेका अध्यक्ष केपी ओलीकै नेतृत्वमा मुलुक चलेका बेला जेनजी विद्रोह भयो । नैतिक रुपमा यि सबै परिस्थितिको जिम्मा ओलीले नै लिनुपर्ने हो । तर, तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीमा कुनै फरकपना छैन । मुलुकले नै उनलाई अस्वीकार गरेसमान अवस्थामा पु¥याएको यस समयमा पनि उनले पार्टी नेतृत्व कुनै हालतमा नछोड्ने गर्जन गरिरहेका छन् ।
त्यतिमात्रै होइन, उनले त निर्वाचनमा नजाने घोषणानै गरिसके । बरु संसद पुनःस्थापना गराउछु भनि उनले भनिरहेका छन् । जेनजी आन्दोलनपछि केही समय केही कम बोलेका ओली अहिले पुनः राजनीतिक गतिविधिमा सक्रियताका साथ लागेका छन् । पार्टी नेतृत्व फेर्नेबारे कसैले पार्टीभित्र कुरा उठाउनुको कुनै अर्थ नहुने भन्दै उनले अप्रत्यक्षरुपमा पदाधिकारीदेखि सदस्यहरुसम्म सबैलाई चुपबस्न बाध्य बनाएको देखिन्छ ।
उनका भाषणमा मुलुकलाई सहि बाटोमा पु¥याउन नसकेको पश्चाताप कहिकतै छैन । बरु अझै सत्ता कब्जा गर्छु भन्ने आशयका गर्जन देखाइरहेका छन् । उनी जेनजी आन्दोलनपछि शनिबार पहिलो पटक पार्टी मुख्यालय च्यासल पनि पुगे । त्यहाँबाटै उनले आफुबाहेक अरुको विकल्प एमालेमा खोज्न दिनेछैन भन्ने सन्देश पनि फैलाए ।
चलाखीपूर्ण कदम चाल्ने प्रयासमा प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलन पछि सबैभन्दा पहिले सार्वजनिक भएका शीर्ष नेता हुन् । उनले पार्टी कार्यालय जलेकै ठाउँमा पुगेर अब हामी जेनजीको मर्मअनुसार मुलुकको नेतृत्व गर्नेगरि तयार छौं भनि विगतबारे केही आत्मलोचना पनि गरे । जेनजीको रफ्तार माओवादीले मात्रै समात्न सक्ने दाबी प्रचण्डले गर्दै आएका छन् भने, सुधार र समीक्षा गर्ने भन्दै देशव्यापीरुपमा गतिविधि बढाइरहेका छन् ।
अब नयाँ म्यानडेटबाटै माओवादीले पार्टी नेतृत्व चयन गर्ने भन्दै प्रचण्डले केन्द्रीय समिति नै विघटन गरे । पार्टी नेतृत्व नयाँ जनमतबाट चयन गर्ने भन्दै समिति विघटन गर्ने पहिलो पार्टी माओवादी केन्द्र बन्यो वा भनौं प्रचण्ड बने । यद्दपि, उनको यो कदमलाई तिगडमबाजीका भएको भनि आलोचना हुँदै आएको छ । जे होस, नेतृत्व आफुबाट अरुलाई नदिएका प्रचण्डले गतिविधि भने दिनप्रतिदिन तीव्रताका साथ बढाइरहेका छन् ।
तत्कालीन प्रतिनिधिसभा सदस्य संख्याका हिसाबले चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो । यस पार्टीका नेतृत्वकर्ता रवि लामिछाने नै लामो समयदेखि गम्भिर प्रकृतिका फौजदारी मुद्दाहरुको अभियोगमा पूर्पक्षका लागि थुनामा छन् । जेनजी आन्दोलन पहिले देखिनै रास्वपामा नेतृत्व हस्तान्तरणको दबाब बढेपनि महिनौंसम्म जेलबाटै रविले रास्वपा चलाए । जेनजी आन्दोलनपहिले नै नेतृत्व हस्तान्तरणको दबाब थेग्न गाह्रो परेपछि बाध्य भएर उनले डीपी अर्याललाई कार्यबाहक सभापति दिएका थिए । रास्वपा अहिले जेनजीको मर्मअनुसार अघि बढ्ने भन्दै राजनीतिक गतिविधि बढाइरहेको छ ।
जेनजी आन्दोलनको धक्काले अन्य पार्टी र नेताहरु पनि केही पछाडी धकेलिएका त छन् तर सलबलाउने कार्यलाई तीव्रता दिइरहेका छन् । यद्दपि, नेतृत्व हस्तान्तरणबारे भने उनीहरु कुनै हालतमा तयार देखिएका छैनन् ।
दल र नेताविनाको मुलुक नेपाल त लोकतान्त्रिक अभ्यासमा कहिकतै परिकल्पना गरिएको छैन । दल र नेताहरु मुलुकको व्यवस्थापनका लागि अपरिहार्य नै हुन् तर, सडकबाटै उनीहरुलाई अस्वीकार गरिसकेको अवस्थामा पनि उनीहरु पुरानै हठ, दम्भ र दादागिरी शैलीमा उत्रिन खोज्नुले नेतृत्वमा नेताहरुका तस्विर जसरी पनि फेर्नुपर्ने चुनौती बढेको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरिरहेको देखिन्छ ।