
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारलाई एनजीओले चलाएको आरोप लाग्दै आएको छ । जेनजी आन्दोलनपछि नयाँ सरकार गठन प्रक्रियामा ‘हामी नेपाल’ एनजीओका संस्थापक सुदन गुरुङले नेतृत्व गर्दै आएका थिए । एनजीओका मान्छेहरु नै मन्त्रिपरिषद्मा सहभागिता रहेको दाबी पनि विभिन्न पक्षले गर्दै आएका छन् । विभिन्न समूहमा रहेका जेनजीहरु मध्ये मिराज ढुंगानाले शनिवार नयाँ दलको घोषणा गर्दा पनि एनजीओतर्फ इंगित गरेका छन् ।
भदौ २३ र २४ को आन्दोलनपछि यतिबेला मुलुकमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा गरी निर्वाचन आयोगले तयारी थालेको छ । तर विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमाले भने फागुन २१ मा निर्वाचन नहुने बताएको छ । एमालेले केन्द्रीय समितिको बैठकबाट नै निर्वाचनमा नजाने औपचारिक निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियारहरु लुटिएको भन्दै सुरक्षाको कारण देखाउँदै फागुन २१ मा निर्वाचन हुनै नसक्ने बताएका छन् । यहि बीचमा जेनजीहरुबीच एक मत देखिएको छैन भने सरकार सञ्चालनमा पनि एनजीओहरु सक्रिय रहेको आरोप लागि नै रहेको छ ।
सरकार गठनका क्रममा हामी नेपाल एनजीओका संस्थापक सुदन गुरुङको सक्रियतासँग र हामी नेपाललाई बारबरा फाउण्डेशन लगायतका विभिन्न एनजीओ आईएनजीओहरुबाट आर्थिक सहायता हुने गरेको आरोपहरु पनि लागि नै रहेका छन् । सरकारमा सहभागी विभिन्न मन्त्रीहरु पनि विभिन्न एनजीओमा संलग्न छन् । भदौ २३ को आन्दोलनको आह्वान गर्ने जेनजी अगुवाहरुले पनि यसलाई चिर्न सकिरहेका छैनन् । जेनजीकै विभिन्न अगुवाहरुले एनजीओले सरकार चलाउन नहुने भन्दै आरोप प्रत्यारोप पनि लगाइरहँदा शनिवार नयाँ दल खोल्ने घोषणा गरेका मिराज ढुंगानाले पनि एनजीओतर्फ नै इंगित गरेका छन् । आधिकारिक हुनका लागि आफूले कि त एनजीओ नभए दल खोल्नुपर्ने अवस्था रहेको ढुंगानाले स्पष्ट गरेका छन् ।
एनजीओको कुरा किन गरे मिराजले ?
आधिकारिक हुनका लागि एनजीओ खोल्नुपर्ने भनी मिराजले दिएको अभिब्यक्ति सुदनप्रति नै लक्षित देखिन्छ । सेप्टेम्बर ८ मा जेनजीलाई आन्दोलनमा आह्वान गरेका मिराज दोस्रो दिनको आन्दोलनमै उपस्थित भएनन् भने त्यसपछि नयाँ परिस्थितिमा वार्ता÷संवादमा पनि उपस्थित भएनन् । आफ्नो सुरक्षाको कारण आफू बाहिर आउन नसकेको उनले विभिन्न प्लेटफर्महरुबाट सार्वजनिक गरेका थिए ।
नयाँ परिस्थितिमा वार्ता÷संवादमा सुदन नै देखापरे । सुशीला कार्की नेतृत्वको नयाँ सरकार गठन भई संसद विघटन भइसकेको केही दिनपछि मात्रै मिराज पुनः सार्वजनिक भएका थिए । अहिले सबैभन्दा अघि जेनजीलाई एक ठाउँमा उभ्याउन दल खोल्न लागेको घोषणा गरेका मिराज कतैबाट परिचालित छन् कि जेनजीको नेतृत्व लिन लागेका हुन्, केही समय पर्खिनुपर्नेछ ।