
काठमाडौं । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनले मिराज ढुंगानालाई फेरि पनि विवादको केन्द्रमा ल्याएको छ । ‘नयाँ राजनीतिक शक्ति’ घोषणा गर्ने भनिएको कार्यक्रम परिवर्तनको आवाजले हल गुञ्जिएको थियो, तर दिशाहीन ऊर्जाले त्यसलाई छायाँमा पारिदियो । जेनजीकै प्रतिनिधित्व हुने गरी दल खोल्ने घोषणा गरेका मिराज ढुंगाना आफू नै जेनजीमा नपर्ने विरोधाभाष अभिब्यक्ति दिएका छन् ।
मिराज ढुंगाना, जो आफूलाई जेनजी पुस्ताको राजनीतिक नेतृत्वकर्ता भनेर परिचय दिन्छन् । जेनजीकै प्रतिनिधित्व हुने गरी नयाँ दल खोल्न लागेको घोषणा गरेका मिराजलाई फेरि एकपटक युवाको असन्तुष्टि र राजनीतिक अपरिपक्वताको मिश्रणका रूपमा चर्चामा ल्याएको छ ।
ढुंगानाका अभिब्यक्तिहरु जोश, असन्तुष्टि र विद्रोहले भरिएका छन् । उनले भ्रष्टाचार, सुशासनको अभाव, र वैदेशिक रोजगारमा गएका नेपालीहरूको पीडा जस्ता विषय उठाएर युवाबीच चर्चित बन्न त खोजेका छन् । तर, जब प्रश्न नीति र व्यवहारिक योजनातर्फ मोडिन्छ, ढुंगानाका जवाफहरू अस्पष्ट र भावनात्मक मात्र देखिन्छन् । दल घोषणाको लागि शनिबार आयोजित पत्रकार सम्मेलनमा पनि युवाहरू र पत्रकारबीच प्रश्नोत्तर झनझन् तातियो । धेरै प्रश्न उठे तर उत्तरहरू धुँवा झैँ फैलिन मात्र सके । कुनै दृष्टीकोण प्रस्तुत गर्न सकेनन् । यो नेतृत्व कस्तो हुने ? त्यसको दिशा र नीति के हो ? यी प्रश्नहरू अझै अनुत्तरित छन् ।
मुख्य माग : प्रत्यक्ष निर्वाचित कार्यकारी
ढुंगानाको मुख्य राजनीतिक माग हो, प्रत्यक्ष निर्वाचित कार्यकारी । यो प्रस्तावले नेपालको राजनीतिक संरचना नै बदल्ने माग गर्छ । तर नेपालको संविधानले संसदीय प्रणालीलाई आधार बनाएको छ । जसमा प्रधानमन्त्री संसदबाट निर्वाचित हुन्छन्, जनताबाट प्रत्यक्ष होइन । संविधान संशोधन बिना प्रत्यक्ष कार्यकारी सम्भव छैन र त्यसका लागि दुई तिहाइ बहुमत अनिवार्य छ ।
अहिले संसद विघटन भइसकेको अवस्थामा, आगामी मध्यावधि चुनाव (फागुन २१) अघि यो प्रस्ताव केवल नारा मात्रै बन्ने देखिन्छ । ढुंगानाको यो माग लोकप्रिय तर अव्यवहारिक भएको भन्दै उनको आलोचना शुरु भैसकेको छ । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशिला कार्कीले पनि यसअघि संविधान संशोधन वा प्रत्यक्ष कार्यकारी अन्तरिम सरकारको नभएको स्पष्ट पारिसकेकी छन् । अर्थात्, जेनजी आन्दोलनको यो प्रमुख एजेन्डा व्यवहारिकभन्दा प्रतीकात्मक बनेको छ ।
पुरानो बहस, नयाँ अनुहार
प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस नेपालमा नयाँ होइन । विभिन्न समयमा राजनीतिक दलहरूले पनि यो नारालाई मतदाता आकर्षित गर्ने हतियारको रूपमा प्रयोग गरेका छन् । तर, फरक के छ भने यो पटक जेनजी पुस्ताबाट पनि यो माग आएको छ । र, जेनजी आन्दोलनकै बलमा अन्तरिम सरकार बनेको हो । त्यसैले पनि उनीहरू कुनै पनि हालतमा आफ्नो मागहरू पुरा गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् । ढुंगानाको समूहले यसलाई सिस्टमिक परिवर्तनको पहिलो चरण बताउँछ । तर, आन्दोलनभित्रै पनि यो मागबारे मतभेद छ । जेनजीका केही समूहले यसलाई राजनीतिक जोखिम भन्दै बहस चलाइरहेका छन् ।
जेनजीको असन्तुष्टि, तर दिशाहीनता
मिराज ढुंगाना र उनको जेनजी आन्दोलनले देशभरका युवाको असन्तुष्टि प्रतिनिधित्व गर्छ । भ्रष्टाचार, बेरोजगारी, र निराशाले थिचिएको पुस्ताको स्वर बनेका छन्, उनीहरू । असन्तुष्टि र आन्दोलनबीचको पुल राजनीतिक परिपक्वता अझै निर्माण हुन बाँकी छ । ढुंगानाले आन्दोलनमा ऊर्जा जगाएका छन्, तर दिशा दिन सकेका छैनन् । उनका अभिब्यक्तिहरु भावनात्मक छन्, तर संगठनात्मक संरचना र नीतिगत स्पष्टतामा कमजोर देखिएका छन् । जेनजीको अभियान हुलमुल र राजनीतिक परिपक्वताको बीचमा अल्झिएको आन्दोलन बन्न पुगेको देखिन्छ ।
विरोधको राजनीति कि सम्भावना ?
ढुंगानाले बारम्बार दोहोर्याउँछन्, ‘हुलमुल भएर देश विकास हुँदैन ।’ तर विडम्बना के छ भने, उनको आन्दोलन अहिले ठ्याक्कै त्यही हुलमुलजस्तो देखिन थालेको छ । आवाजहरू धेरै छन्, दृष्टिकोण स्पष्ट छैन । अझ, ढुंगानाले वर्तमान सरकार जेनजीले नै बनाएको भए पनि त्यो जेनजीमा आफू नपर्ने बताएका छन् ।
पार्टी घोषणा नहुँदै विरोध प्रदर्शन
मिराजले शनिवार पार्टी खोल्ने घोषणा गर्न लागेको कार्यक्रममै एक युवाले सांकेतिक विरोध प्रदर्शन गरेका छन् । उनले कार्यक्रम गरिरहँदा हलकै ढोका एक युवाले मौन प्रदर्शन गरे । ‘म शहीद’ भन्दै कालो चश्मा र कालो मास्क लगाएर इन्द्रजित साफी नामका युवाले मौन प्रदर्शन गरे । उनीसँगै शहीद परिवारका मागहरु पनि समावेश गरिएको थियो ।
सामाजिक सञ्जालमा मिराजहरू ट्रेन्ड भएपनि जेनजीका अभिब्यक्तिहरू सडकमा संगठित हुन सकेका छैनन् । नेपालका युवाहरूले परिवर्तन चाहिरहेका छन् । तर परिवर्तनका लागि केवल आक्रोश होइन, जिम्मेवारी र दूरदृष्टि पनि चाहिने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
मिराज ढुंगानाहरूको उदयले नयाँ पुस्ताको असन्तुष्टि उजागर गरेपनि त्यसलाई नीतिगत दिशामा रूपान्तरण गर्ने परिपक्वता अझै उनको आन्दोलनमा देखिँदैन । जेनजीहरूले आफ्नो जोशलाई योजना, संगठन र नीतिमा रूपान्तरण गर्न सके भने उनीहरू नयाँ राजनीतिक शक्तिका प्रतिनिधि बन्न सक्छन् । तर यदि दिशाहीनता दोहोरियो भने जेनजी आन्दोलन नेपालका अधुरा राजनीतिक प्रयोगहरूको सूचीमा थपिनेछ ।