
काठमाडौं । जेनजी आन्दोलनपछि नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्न भन्दै केही दिनदेखि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । तर कांग्रेसको केन्द्रीय समिति बैठक भने निकै धिमा गतिमा अघि बढेको छ । पार्टीको महाधिवेशन नियमित र विशेष भन्नेमै बहस चलिरहेको कांग्रेस अझै सम्म पनि दिशाहिन देखिएको छ ।
जेनजी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी पाएका खड्काले नै अहिले केन्द्रीय कार्य समितिको बैठक सञ्चालन गरिरहेका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक चल्दै गर्दा पार्टीको नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने बहस उत्कर्षमा छ । केन्द्रीय समिति बैठकमा यहि बहस चल्दै गर्दा संस्थापन इतर समुहले नेपाली कांग्रेस विशेष महाधिवेशनमा जानुपर्ने भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापतिलाई बुझाएर दबाब बढाएका छन् ।
पार्टीको १५ औं महाधिवेशन गर्ने समय आइसकेकोले विशेष महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको बुझाइ छ । तत्काल महाधिवेशनको मिति तोकेर अगाडी बढ्नु पर्ने यदि महाधिवेशनको मिति तोक्न सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने भन्दै इतर समूहले दबाब बढाइरहेका छन् । कांग्रेस बैठकमा महामन्त्री गगन थापाले आगामी मंसिर २७ गते देखि २९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेश गरेका छन् । तर महामन्त्री थापाले पेश आधिकारिक तालिका पेश नगरेको संस्थापन समुहका नेताहरु बताउँछन् ।
कांग्रेसमा शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेर महाधिवेशन गर्नु भनेपछि इतर समुह देउवा पक्ष कमजोर बन्दै गएको भन्ने प्रचार गरिरहेको देखिन्छ । तर केन्द्रिय समितिको बैठकमा देउवा समुह नै बलियो छ ।
विगतमा देउवाले लिड गर्ने संस्थापन गुटको नेतृत्व पूर्णबहादुर खड्काले गर्दै आएका छन् । बैठकमा बोल्ने क्रममा पनि अधिकांश नेताहरुले विशेष महाधिवेशन गर्नु पर्ने भन्दै केहीले पार्टी भित्रको एकतालाई बिथोल्न खोजेको भन्दै संकटको बेलामा पार्टीको एकता बिथोल्न विशेष महाधिवेशनको माग गर्ने काम भैरहेको बताएका छन् ।
छलफलमा इतर समुहले उठाएका प्रश्नलाई पार्टीको निर्णय जसरी बाहिर सार्वजनिक गरिएको भन्दै महाधिवेशन वा विषेश महाधिवेशन भन्ने बिषय छलफलमा नै रहेको र कार्यकतालिका पेश नभएको संस्थापन समुहको दाबी छ । कांग्रेस नेता प्रदिप पौडेल पनि बैठकमा बोल्ने क्रममा नेताहरुले महाधिवेशन गर्नु पर्ने भन्दै विभिन्न मिति समेत प्रस्ताव गरिरहेको र आफुले समेत नियमित महाधिवेशन गर्नु पर्ने भन्दै बैठकमा छलफलका लागि मिति नै राखेर प्रस्ताव गरिरहेको बताउँछन् । धेरै नेताहरुबाट महाधिवेशनको बिषयलाई लिएर यो मितिमा गर्नु पर्छ भनेर प्रस्ताव आएको र त्यो छलफलकै क्रममा रहेको भन्दै आधिकारीक रुपमा यहि मितिमा महाधिवेशन गर्ने भनेर प्रस्ताव नआएको बताउँछन् ।
अधिकांश नेताहरुले बैठकमा महामन्त्रीले महाधिवेशनका लागि तालिका पेश नगरेको बताइरहदाँ गगन समुहका नेताहरुले भने महामन्त्रीले गरेको प्रस्तावमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।
विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरुले नै गएको महाधिवेशनमा कांग्रेसको नेतृत्व चुनेको र त्यसको अवधि मंसिर २७ गते सकिने भन्दै नियमीत महाधिवेशन मंसिर अगाडी नै नहुने भए विशेष महाधिवेशन हुनु पर्ने माग इतर समुहको छ ।
जेनजी आन्दोलन कुनै व्यत्तिको बिरुद्धमा भन्दा पनि प्रवृतिका विरुद्धमा रहेको भन्दै कांग्रेसमा केही नेताहरुले भने पार्टीको प्रवृतिमा सुधार हुनुपर्ने आवाज समेत उठाई रहेका छन् ।
पार्टीको महाधिवेशनको कुरा उठाइ रहदाँ भ्रातृसंगठनहरुको अवस्था के छ भन्ने तर्फ पनि ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । नेविसंघ र तरुणदल जस्ता जुगारु संगठनको महाधिवेशन लामो समय देखि हुन सकेको छैन, त्यहाँ विधि र पद्धति हुदँैन पार्टीमा भने विधि र प्रद्धतिका कुरा उठ्ने गरेको भन्दै प्रवृतिमा नै सुधार हुनु पर्ने केही नेताहरुको भनाइ छ ।
संस्थापन समुह नियमित महाधिवेशनको पनि निर्वाचन अगाडी गर्ने कि निर्वाचन पछि गर्ने भन्ने बिषयमा आफै स्पष्ट हुन सकिरहेको छैन । आगामी महाधिवेशनमा आफु सभापतिको उम्मेदवार नभएको देउवाले घोषणा गरीसकेकाले कांग्रेसमा नयाँ नेतृत्व आउने कुरामा कुनै दुइ मत छैन ।
पार्टी विधान अनुुसार पनि अबको महाधिवेशनमा देउवा सभापति बन्न नपाउने स्पष्ट छ । आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने बेला कांग्रेस महाविधेनकै बहसमा अल्झिएको छ । जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको आवश्यकता बढिरहँदा पार्टीलाई कसरी अघि बढाउने भन्ने कांग्रेस अलमलमै देखिन्छ ।