News 24 Television
स्वास्थ्यमन्त्री बन्ने बित्तिकै कर्मचारी सरुवामै किन चासो ? 

काठमाडौं । मन्त्रीसँगै कर्मचारी पनि फेरिने विषय नेपालमा परम्परा जस्तै बन्न पुगेको छ । नयाँ मन्त्री आएपछि कर्मचारी पनि फेर्ने र आफू अनुकुलका काम गर्न सहज स्थिति सिर्जना गर्ने चलन बढिरहेको छ । 

कानूनले तोकेको काम सम्पन्न गर्नलाई कर्मचारी जो भएपनि हुनुपर्नेमा कर्मचारी भकुण्डो जस्तो यताबाट उता र उताबाट यता गर्नाले कार्यसम्पादनमा गम्भीर असर परिरहेको छ । यस्तै, बैशाख ३१ गते स्वास्थ्य मन्त्री बनेर आएका प्रदीप यादवले पनि स्वास्थ्य मन्त्रालयमा चल्ने यहि सरुवाको खेललाई निरन्तरता दिएका छन् । 

कानूनले तोकेको काम गर्नलाई जोसुकैले पनि सहज वातावरण सिर्जना गर्नु सबैको दायित्व हो । जनताबाट उठाइएको करबाट चल्ने सरकारी वेतनधारी कर्मचारी वा पदाधिकारीले सार्वजनिक हितका काम गर्नलाई आफ्ना भन्दा कार्य क्षमताको आधारमा मान्छे छनोट गर्नुपर्ने हुन्छ । तर, मन्त्री फेरिएसँगै मन्त्रालयमा सुरु हुन्छ, कर्मचारी सरुवा । 

कहिले कता त कहिले कता पुगिरहने कर्मचारी भने दिन गनेर सरुवाको बाटो कुरिरहेका जस्ता देखिन्छन् । यस्तोमा कर्मचारीको कार्यसम्पादन कमजोर मात्रै बनिरहेको छैन, यसले राज्य प्रणालीमाथि नै असर पारिरहेको छ । स्वास्थ्य मन्त्री बनेको एक महिना पनि नवित्दै मन्त्री प्रदीप यादवले मन्त्रालय माताहात क्षेत्रका विभिन्न निकायका कर्मचारीको सरुवा गरेका छन् ।

क–कसको कहाँ सरुवा गरे मन्त्री यादवले 

–इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा सरवा ।

–शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकका रुपमा सरुवा गरी डाक्टर युवानिधि बसौलालाई पुनः कान्ति बाल अस्पतालमा सरुवा ।

–राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता, केन्द्रमा हाल पद रिक्त ।

–राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मेवारी ।

–नरदेवी आयुर्वेद चिकित्सालयबाट सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको रुपमा कामकाजमा खटाइएका डा. प्रदीप केसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी ।

–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखा प्रमुखमा स्वास्थ्यमन्त्रीका निजी सचिव भक्त जोशीलाई ल्याइएको छ । जोशीलाई मन्त्रीको निजी सचिवालयसँगै मन्त्रालयको महत्वपूर्ण शाखाको समेत गरी दोहोरो जिम्मेवारी प्रदान ।

स्वास्थ्य मन्त्री प्रदीप यादवले गरेका माथिका सरुवा त केही प्रतिनिधि सरुवा मात्र हुन् । उनले यसबाहेक अन्य निकायमा समेत फेरबदल गरेका छन् ।

यसरी स्वस्थ्य मन्त्रालयमा मन्त्री परिर्वतनसंगै सम्बधित नियकाका कर्मचारीको सरुवा गर्ने पवृतिले स्वास्थ्य क्षेत्रको सुधारमा बाधा पुग्ने जनस्वास्थ्य विज्ञ बाबुराम मरासिनीको भनाई छ । 

उनी मन्त्री र सचिवको काम कर्मचारी सरुवा गर्ने नभएर स्वास्थ्य क्षेत्रको सुधारका लागि रणनीति बनाउने काम भएको उनको तर्क छ । 

स्वास्थ्य क्षेत्र विकासका लागि नीति योजना बनाउनेदेखि सुधारका लागि पहल गर्ने नियामक निकाय हो स्वास्थ्य मन्त्रालय । तर, स्वास्थ्य मन्त्रालयलमा स्वास्थ्य सेवा विस्तार र सुधारका लागि हुने काम भन्दा पनि सरुवाकै काम बढि भएको देखिन्छ । यद्यपी मन्त्री यादव मात्र यस्ता मन्त्री होइन्, जसले स्वास्थ्यका महत्वपूर्ण काम भन्दा सरुवालाई प्राथमिकता दिएको देखिन्छ । 

प्रदिप यादव भन्दा पहिलाका स्वास्थ्य मन्त्रीले के गरे ?

प्रदीप भन्दा अघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पनि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट मेसुमा आफू निकटका प्रमोदकुमार यादवलाई सरुवा गरेका थिए । उनले एघारौं तहका डा. बद्री रिजाललाई हटाएर दशौं तहका प्रमोदकुमारलाई राखेका थिए ।

यस्तै आयुर्वेद अस्पताल नरदेवीमा पनि दशौँ तहका रामदेव यादवलाई निमित्त निर्देशकको जिम्मेवारी प्रदान गरेका थिए । 

करिब दुई महिना स्वास्थ्य मन्त्री पद सम्हालेका यादवले पनि सरुवा गर्ने कामलाई निरन्तरता दिएको देखिन्छ । त्यस्तै, उपेन्द्र यादव भन्दा पहिला स्वास्थ्य मन्त्री बनेको नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतको १० महिलने कार्यकाल पनि स्वास्थ्य क्षेत्रको विकास र विस्तार भन्दा प्रचारवाजी र सरुवामा नै व्यतित भएको देखिन्छ । 

बस्नेतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई मंसिर १४ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको कार्यकारी निर्देशकबाट हटाएर मन्त्रालयमा तानेका थिए । 

त्यस्तै वीर अस्पतालमा भएका २ सय ७६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरी  अस्पतालबाट १ सय ८५ नर्सिङ जनशतिmसहित अन्य जनशतिm कटौती गरेका थिए । 

उनले अस्पताललाई आफ्नो गृहजिल्लाका मानिस भर्ति गर्ने केन्द्र नै बनाउन खोजेका थिए । जसमा केहि मानिसलाई जागिरमा समेत लगाएका थिए । स्वास्थ्य क्षेत्र अन्य क्षेत्र भन्दा संवेदनशील र महत्वपूर्ण क्षेत्र हो ।  

स्वास्थ्यको प्रमुखमा आउँने व्यतिmले यो क्षेत्रमा देखिएका कमी कमजोरी हटाउन स्वास्थ्य क्षेत्र विस्तार र सहजीकरणका लागि रणनिति बनाउन आवश्यक छ । तर, विडम्बना मन्त्रीको जिम्मामा आउँने जोकोहीले स्वास्थ्य क्षेत्रको सवेदनशीलतालाई बुझेर काम गर्नुको साटो आफ्ना मान्छेलाई पदस्थापन गर्नेमै समय खर्चिने भएकाले सेवा प्रवाहमा सधैं प्रश्न उठ्ने गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update