News 24 Television
महानगरको आफ्नै फार्मेसी, ८० प्रतिशत सस्तो 

काठमाडौँ । काठमाडौ महानगरपालिकाले सर्वसुलभ औषधि उपचार सेवा प्रवाह गर्न विभिन्न योजना सहितको काम गदै आएको छ । यसै अन्र्तगत आर्थिक वर्ष ०८०/८१ मा सुलभ फार्मेसी कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर कार्यान्वयन भएन । सोही अवधारणा अनुरुप यसपाली विभिन्न पाँच स्थानमा फार्मेसी संचालन गर्ने महानगरको योजना रहेको छ । तर महानगरले एक वर्षको अवधिमा फार्मेसी सञ्चालनको लागि एउटा मात्र स्थान तय गरेको छ । 

पछिल्लो समय फार्मासिस्ट नबस्नेदेखि औषधिको मूल्यमा एकरुपता नहुने जस्ता विविध समस्या फार्मेसीमा देखिने गरेका छन् । यसै विषयलाई मध्यनजर गर्दै काठमाडौ महानगरपालिकाले फार्मेसीमा अनुगमन गर्ने काम मात्र नभएर आफ्नै सुलभ फार्मेसी ंसंचालनमा ल्याउने योजना बनाएको थियो । जसका लागि महानगरपालिकाले करिब ६ करोड बजेट समेत छुट्यायो ।

 निजी फार्मेसीमा सबै प्रकारको औषधि नपाइने समस्याका साथै औषधिको मूल्य समेत मंहगो हुने कारण नागरिकलाई सर्भसुलभ रुपमा सस्तोमा औषधि विक्रिवितरण गर्न महानगरले सुलभ फार्मेसीको अवधारण ल्याएको थियो । तर अवधारण ल्याएको एक वर्षको अवधिमा फार्मेसी संचालन कार्यका लागि आवश्यक सबै तयारी भने पुरा भएको देखिदैन । 

काठमाडौ महानगरभित्र सरकारी र निजी गरेर २७ सय फार्मेसी संचालनमा छन् । तर अधिकांश फार्मेसीमा समस्या उस्तै छ । जसका कारण महानगरले पहिलो चरणमा बबरमहल, महाराजगन्ज, कालीमाटी, वीर अस्पताल आसपास र क्षेत्रपाटी क्षेत्रमा सुलभ फार्मेसी खोल्ने योजना बनाएको छ । जस अन्र्तगत अहिले वडा नम्बर ११ बबरमहलस्थित एउटा भवनमा फार्मेसी संचालन गर्न स्थान तय भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने फर्मेसीमा निजी तथा सरकारी औषधि पसलको तुलनामा ८० प्रतिशत भन्दा कम मूल्यमा औषधि विक्रिवितरण गर्ने योजना छ । साथै सबै प्रकारका औषधि राखिने तथा सरकारले निःशुल्क प्रदान गर्ने औषधि समेत उपलब्ध हुने भएकाले पनि महानगरको सुलभ फार्मेसीबाट उपभोक्ताले राहत पाउने अपेक्षा गरिएको छ । तर कार्यान्वयन कहिले र कति प्रभावकारी होला, त्यो भने हेर्न बाँकी छ ।  

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update