News 24 Television
गर्मी बढेसँगै थपिए यस्ता चुनौती र समस्या

काठमाडौँ । केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम अघिल्ला वर्षको तुलनामा निकै बढेको छ । उखरमाउलो गर्मी बढ्नुको कारण जलवायु परिवर्तनको असरका रुपमा विशेलषण हुन थालेको छ । बढ्दो गर्मीको प्रभाव तराई क्षेत्रमा बढि देखिएको छ नै । यस बाहेक पहाडी, हिमाली क्षेत्रसहित काठमाडौ उपत्यकामा पनि गर्मीको प्रभाव प्रष्ट देखिन थालेको छ । साथै गर्मीका कारण सामान्यदेखि जटिल स्वास्थ्य समस्या समेत देखिन थालेको छ । 

देशका विभिन्न स्थानको तापक्रमलाई हेर्ने हो भने पनि यो वर्षको तापक्रम अघिल्ला वर्षको तुलनामा निकै बढेको छ । बढ्दो तापक्रम तराई क्षेत्रमा मात्र नभई पहाडी क्षेत्रमा पनि परेको छ । काठमाडौं उपत्यकाको तापक्रम पनि बढ्दो क्रममा छ । समान्यत गर्मीयाममा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ देखि २९ सेल्सियस मापन हुने गर्दथ्यो । 

तर वर्ष अधिंकतम तापक्रम ३३ दशमलव ८ डिग्री सेल्सियससम्म मापन गरिएको छ । सोमबार मात्रै पनि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस मापन भएको छ । 

त्यस्तै, मुलुकका अन्य स्थानमा नेपालगञ्ज र धनगढीमा ४३ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम मापन गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामासहित देशका अन्य स्थानमा समेत गर्मी निकै बढेको सर्वधारणले महसुस गरेका छन् । 

अत्याधिक गर्मीको कारण अहिले नागरिकमा विभिन्न स्वास्थ्य समस्या समेत बढेको चिकित्सक बताउँछन् । गर्मीका कारण भाइरल ज्वरो, टाइफाइड, बेहोस हुने, झाडापखाला, बान्ता हुने जस्ता समस्या देखिने गरेका छन् । साथै पछिल्लो समय मृगौला विग्रने समस्या भएका बिरामीको संख्या समेत बढिरहेको चिकित्सकहरुले बताएका छन् । 

जलवायु परिवर्तनका कारण नै पछिल्लो समय तापक्रम बढेको विज्ञहरुले औंल्याएका छन् ।  जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणका अनुसार नेपालमा औषत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशतले बढेको छ । 

त्यस्तै, सन् २०१० मा नै वातावरण मन्त्रालयले २०३० सम्म तापक्रम वृद्धिदर १ दशमलव.२, सन् २०५० सम्ममा १ दशमलव ७ र सन् २१०० मा पुग्दा वृद्धिदर ३ डिग्रीसम्म पुग्ने आकलन गरेको छ । यसरी पछिल्लोे केहि वर्ष यता बढेको तापक्रमका कारण मुलुकभरको जनजीवन कष्टकर त बनेको छ नै । साथै जनस्वास्थ्यमा समेत गम्भीर खालको जटिलता बढ्दै गएको तथ्य बाहिर आउन थालेको छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update