News 24 Television
ईशान बाल अस्पतालले गर्यो दुर्लभ र जटिल रोगको एकै व्यक्तिमा ४ सफल शल्यक्रिया

काठमाडौं । टोखास्थित ईशान बाल तथा महिला अस्पतालले एकै विरामीमा पेडियाट्रिक युरोलोजी विषयको एकै पटक चार सफल शल्यक्रिया गरेको छ । 

अस्पतालले लिखु तामाकोशी घर भएकी ११ वर्षिया तृसना थापाको पेडियाट्रिक युरोलोजी विषयको जटिल र दुर्लभ शल्यक्रिया गरेको हो । 

विरामीको ४ शल्यक्रियामा सोनो आन्द्राबाट पिसाब थैली ठूलो बनाउने र दुवै मृगौलाका नलीहरुमा पिसाब नफर्किने समस्याको शल्यक्रिया, पिसाब थैलीको तल्लो प्वाँल बन्द गरेर एपेन्डिक्सलाई प्रयोग गरि पिसाब निकाल्ने कृत्रिम नली बनाउने (Augmentation ileocystoplosty with B/L ureteral implantation with Bladder neck closure neck closure with Mitrofanoff procedure) शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

upachar-3-1718428575.JPG
तृसनाको गत बैशाख १० गते जोखिमयुक्त शल्यक्रिया गरिएको हो । उक्त प्रकारको जोखिमपूर्ण रोगको सफल शल्यक्रिया नेपालमै पहिलो पल्ट भएको चिकित्सकहरुले दावी गरेका छन् । 

शल्यक्रियामा प्राध्यापक डाक्टर रामनन्दन प्रसाद चौधरी तथा उनको टिमले खटिएको थियो । यो प्रकारको दुर्लभ र अनौठो शल्यक्रिया धेरै जोखिमयुक्त भएपनि विरामीलाई बचाउन सफल भएको अस्पतालले जनाएको छ । 

१० घण्टा लगाएर गरिएको शल्यक्रियामा बेहोस गर्नका लागि प्राध्यापक डाक्टर श्यामकृष्ण महर्जनको टोली खटिएको थियो । शल्यक्रियापछि विरामीलाई सघन कक्ष तथा (Post-Operatice Ward) मा राख्नु परेपनि पछिल्ला दिनहरुमा क्रमश सुधार हुँदै अहिले सामान्य अवस्थामा पुगेको अस्पतालले जनाएको छ । उपचार भएकी गृसनाको ११ वर्ष अघि प्रसुति गृह थापाथलीमा जन्म भएको थियो ।

उनको जन्म हुँदा नै नाइटोभन्दा तल्लो भागमा पेटको भित्ता नभएको र पिसाब थैली ख’ल्ला र पिसाब नलीसमेत नभइ त्यहीबाट लगातार पिसाब बाहिरी चुहिने समस्या थियो ।

upachar-2-1718428609.JPG
त्यसपछि उनको ९ दिनमै डा. चौधरीकै नेतृत्वमा कान्तिबाल अस्पतालमा खुल्ला पिसाब थैली बन्द गर्ने शल्यक्रिया गरिएको थियो । 

त्यसको ४ वर्षपछि पनि उनको पिसाब नली बनाउने शल्यक्रिया गरियो । त्यसपछि पनि चिकित्सककै सम्पर्कमा रहेकी तृसनाको पिसाब थाम्ने क्षमता विकास हुने आशा थियो । तर लगातार चुहिने र पिसाब थैलीबाट मृगौलातिरबाट आउने दुई वटै नलीहरुबाट उल्टै फर्किने समस्या पैदा भएको थियो । 

जसका कारण दैनिक जीवनयापन गर्न नै कठिन भएपछि उक्त ४ शल्यक्रिया गर्नुपरेको अस्पतालले जनाएको छ । जटिल र दुर्लभ शल्यक्रिया सफल भएको प्रति अस्पतालले समेत खुसी व्यक्त गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update