News 24 Television
संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस-एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताए ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताएका हुन् । ओलीले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए । 

निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको बताउँदै ओलीले आयोग कसैको नेतृत्वमा पनि नबनेको स्पस्ट पारे । राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति संविधानमा आवश्यक संशोधन हुने चाहिँ उनले बताए ।

 एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीको भनाइ छ । उनले प्रदेशहरुमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रम चलेको र त्यसलाई रोक्न एमाले र काँग्रेस मिलेको उनले बताए ।

अध्यक्ष ओलीले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरु मिलेको बताए । संघीयतालाई सफल बनाउने दिशामा सरकार नगएकाले समीकरण फेर्नुपरेको समेत उनको दाबी छ । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने समेत उनले बताए । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update