काठमाडौं । सरकारले विद्यालय र विद्यालयबाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । यो नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठुलो अभियान हो ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको हो । ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ ।
खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने सरकारको तयारी छ । विद्यालयबाहिर रहेका किशोरीलाई भने स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी गरिएको छ । यसअघि सरकारले सात प्रदेशका एक–एकवटा संघीय अस्पतालमा डेमोस्ट्रेसन (नमुना) का रूपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ ।
सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब ६ हजार पर्न जान्छ । एचपिभी खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सरकारले खरिद गरेको हो ।
खोप एकपटक लगाएपछि जीवनभरका लागि काम गर्ने भएकाले खोप अभियानमा सहभागी हुन किशोरीसहित अभिभावकलाई आग्रह गरिएको छ ।