काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म “२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१” को आयोजना गर्ने भएको छ ।
महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
यस्तो मेला महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ । उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग र्पुयाउने, नयाँनयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको माग अनुरुपका वस्तु डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए ।
त्यस्तै, स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्य पनि मेलाको रहेको छ ।
बौद्धस्थित होटल हायात परिसरमा आयोजना हुने सो मेलाको उद्घाटन राष्ट्रपतिले गर्ने कार्यक्रम रहेको र मेलाको अवलोकनका लागि नेपाल सरकारका माननीय मन्त्रीहरू, उच्चपदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका पदाधिकारी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति मेलामा हुने महासंघले जनाएको छ ।
त्यस्तै, व्यापार मेला आयोजनाका लागि उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरू, बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनीहरू, बीमा कम्पनीहरू, ठूला औद्योगिक, व्यापारिक तथा प्रतिष्ठानहरू र अन्य व्यापारिक क्षेत्रका संघसंस्था र कम्पनीहरूको पनि सहयोग रहने बताइएको छ ।
छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशका उद्योगी व्यापारीहरूको सहभागिता रहने सो मेलामा हस्तकलाका उत्पादनहरूका करिब १५० वटा स्टल रहने आयोजकले जनाएको छ ।
त्यस्तै, व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्लाहस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने महासंघले जनाएको छ ।
मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिकीका लागि राखिने बताइएको छ ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम छ ।
त्यसैगरी, मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिहरूका लागि स्टल निस्शुल्क उपलब्ध गराइने पनि आयोजकले जनाएका छन् ।