काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेटसम्बन्धी समस्या बढेपछि उनको बुधवार महाराजगञ्ज स्थित त्रि.वि शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो ।
हालका राष्ट्रपति मात्र नभएर पूर्व पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि प्रोस्टेट क्यान्सरको उपचार गराएका थिए । पूर्व तथा वर्तमान राष्ट्रपतिलाई समेत देखिएको प्रोस्टेट समस्या के हो ? प्रोस्टेट समस्या के कारणले देखिने गर्दछ त ?
पुरुषहरुमा मात्र हुने ग्रन्थी प्रोस्टेट ग्रन्थी हो । त्यसैले यसलाई पुरुष ग्रन्थी पनि भन्ने गरिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर रहेको हुन्छ । यो ग्रन्थी उमेर बढ्दै जाँदा अरु ग्रन्थी जस्तै गरी बढ्न थाल्छ ।
यसको बढाई असमान्य हुदैँ गएको अवस्थामा यसले मुत्राशयमा समस्या देखिन थाल्दछ । प्रोस्टेटको समस्या सामान्यतया ४० देखि ४५ वर्ष पछि देखिने गर्दछ ।
उमेर बढ्दै जाँदा प्रोस्टेटको आकार र वजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ । चिकित्सकहरुका अनुसार २० देखि २५ ग्रामसम्मको प्रोस्टेटलाई ‘ग्रेड वान’ भनिन्छ, जसलाई सामान्य मान्ने गरिन्छ । तर यो भन्दा बढी भएको अवस्थामा यसले पिसाबको धारा सानो हुने, पिसाबको संक्रमण हुने तथा पिसाब रोकिने समस्या उत्पन्न गर्ने गर्दछ ।
प्रोस्टेट ग्रन्थीको समस्या भनेको यसको आकार बढ्नु हो । जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल बढ्दै जान्छ ।
चिकित्सकको सल्लाहमा लक्षण अनुसार उपचार, औषधिको प्रयोग, अल्फा ब्लकर तथा प्रोस्टेट ग्रन्थिलाई सुकाउने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । तर लामो समय कटेको र औषधीले काम नगरेमा र आकार अत्यन्त ठुलो भएको अवस्थामा भने शल्यक्रिया गुर्नपर्ने हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलमा देखिएको समस्या पनि यस्तै खालको हो । जसको बुधवार शल्यक्रिया मार्फत उपचार सफल भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
पूर्व राष्ट्रपति रामशरण यादवलाई भने प्रोस्टेट क्यान्सर देखिएको थियो । तर उनले अमेरिका गएर उपचार गरी अहिले पूर्ण रुपमा निको भएका छन् ।
पुरुषहरुमा देखिने प्रोस्टेट समस्या सामान्य भए पनि प्रोस्टेट क्यान्सरको अवस्था भने गम्भीर हुने चिकित्सक बताउँछन् । नेपालमा प्रोस्टेटको समस्याका बारेमा जानकारी धेरै भएपनि प्रोस्टेट क्यान्सरको बारेमा जानकारी अभाव प्रमुख समस्याको रुपमा देखिएको चिकित्सक बताउँछन् । तर प्रोस्टेट क्यान्सर पूर्वीय मूलुकमा बढि देखिए पनि नेपालमा खासै धेरै नभएको चिकित्सक बताउँछन् ।
चिकित्सकहरुका अनुसार पिसाबको समस्या हुने बितिकै प्रोस्टेट ग्रन्थिको समस्या हो भनेर किटान गर्न नसक्दा समस्या बढ्दै जाने गर्दछ ।
प्रोस्टेट बढ्दै जाँदा पिसाब रोकिने, संक्रमण हुने, पत्थरी हुने, पिसाब मिर्गौलामा पुग्ने र सुनिने, पिसाबमा रगत मिसिने, मिर्गौलामा पानी जम्ने जस्ता समस्या देखिने गर्दछ । त्यसैले ४० वर्ष नाघेका पुरुषमा पिसाब सम्बन्धी समस्या देखिएमा यसको पहिचान र उपचार गर्न सक्ने हो भने प्रोस्टेट समस्याका साथै प्रोस्टेट क्यान्सरबाट समेत जोगिन सकिने चिकित्सक बताउँछन् ।