
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा अकस्मात् आगलागी भएपछि सुरक्षा संयन्त्रमा खैलाबैला मच्चियो । मन्त्री प्रदीप यादवको कार्यकक्षबाट शुुरु भएको आगलागीले केही मिनेटमै कोठाभित्र रहेका सम्पूर्ण सामग्री खरानीमा परिणत ग¥यो ।
प्रारम्भिक अनुसन्धानले विद्युत् सर्टलाई आगलागीको कारण भनेको छ । तर घटनाले सिंहदरबार भित्रकै सुरक्षाका सम्बन्धमा अनेक प्रश्नहरू जन्माएको छ ।
शनिबार बिहान मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रको वातावरण एकाएक तनावपूर्ण बन्यो । एकाएक गेटबाहिर दौडिरहेका सुरक्षा गार्डहरू, भित्रबाट निस्किएको बाक्लो कालो धुँवा, र अफरातफरी मच्चिएका कर्मचारीहरू । यहाँ केही गम्भीर भएको संकेत स्पष्ट देखिन्थ्यो ।
खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षबाट धुँवा र झिल्काहरू निस्किरहेका थिए । अचानक भएको आगलागीले सम्पूर्ण कार्यकक्षलाई डरलाग्दो रूपमा भस्म बनाइसकेको थियो । आश्चर्यजनक कुरा त के भने, शुक्रबार साँझ नै कोठाभित्रबाट जलेका तारहरूको गन्ध आएको थियो । तर, कसैले पनि यसलाई गम्भीर रूपमा लिएनन् ।
शनिबार बिहान केही मिनेटमै आगो यति तीव्र गतिमा फैलियो कि टेलिभिजन, कम्प्युटर, डेस्कटप, टेबल, सोफा, कुर्सीहरू, कार्पेटदेखि सीसीटीभी क्यामेराको मनिटरसम्म खरानीमा परिणत भए । सिंहदरबारभित्र यति ठूलो आगलागी हुनु रहस्यमयी मात्र होइन, गम्भीर सुरक्षा प्रश्न पनि थियो ।
अनुमानित क्षति ५० लाख रुपैयाँभन्दा बढी पुग्न सक्छ । सहरी विकास मन्त्रालयले घटनाको सही मूल्यांकनका लागि विशेष समिति गठन गरिसकेको छ । तर सबैभन्दा रहस्यमयी कुरा मन्त्री यादवको दाबी । उनले आफ्नो कार्यकक्षमा रहेका कुनै पनि महत्वपूर्ण कागजातहरू नष्ट नभएको बताएका छन् ।
आगलागीको वास्तविक कारण अझै रहस्यमय नै छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । तर, सिंहदरबारभित्रको कुनै पनि घटना सामान्य नहुँने भन्दै टिप्पणी शुरु भएको छ ।
एकातर्फ शुक्रबार नै तार जलेको गन्ध आएको थियो भने तत्काल मर्मत किन गरिएन भन्ने प्रश्न उठिरहेको छ भने, अर्कोतर्फ किन सीसीटीभी फुटेजहरू समेत जलेर नष्ट भए ? के यो संयोग मात्रै हो वा कुनै योजनाबद्ध षड्यन्त्र ? यी सबै प्रश्नहरू अहिले सरकारका माथिल्ला तहसम्म हलचल मच्चाइरहेका छन् ।
कसरी हुन्छ विजुली सर्ट ?
विद्युत सर्ट हुने घटनाहरू घर, कार्यालय, तथा औद्योगिक क्षेत्रमा बारम्बार देखिने समस्या हो । यसले आगलागी तथा विद्युतीय यन्त्रहरूमा क्षति पु¥याउने खतरा रहन्छ ।
– पुराना, जीर्ण वा अव्यवस्थित तारहरूको प्रयोग गर्दा छोटो सर्किट हुन सक्छ ।
– एउटा विद्युत सर्किटमा क्षमताभन्दा बढी लोड हुँदा तार पग्लन सक्छ ।
– तारको बाहिरी भाग क्षतिग्रस्त हुँदा तामाको तार आपसमा जडिन सक्छ ।
– बिजुलीको तार वा उपकरणमा पानी परेमा सर्ट हुन सक्छ ।
– गलत रूपमा तार जडान गर्दा सिधै करेन्ट पास भई सर्ट हुन सक्छ ।
– बिग्रिएका वा कमजोर विद्युत उपकरणहरूले सर्ट हुन सक्छ ।
– कुनै तार वा उपकरणमा करेन्ट चुहावट हुँदा सर्ट हुन सक्छ ।
– उचित ग्राउन्डिङ नहुँदा विद्युत प्रवाह असन्तुलित भई सर्टको जोखिम बढ्छ ।
नेपालमा विद्युत् सर्टका कारण हुने आगलागीका घटनाहरू बारम्बार दोहोरिइरहेका छन् । जथाभावी तार जडान, कमजोर मर्मतसम्भार, र विद्युत् प्रणालीमा लापरवाहीका कारण हरेक वर्ष हजारौं आगलागीका घटनाहरू हुने गरेका छन् ।
नेपालमा विद्युत् सर्टका कारण भइरहेका प्रमुख आगलागीका घटना
सुनसरी, इटहरी (२०७८ साल)
– इटहरीको मुख्य बजार क्षेत्रमा रहेको सपिङ मलमा विद्युत् सर्ट भई आगलागी हुँदा करोडौंको क्षति भयो। बिजुली तारको अनुगमन समयमै नगर्दा ठूलो दुर्घटना निम्तियो ।
काठमाडौं, असन बजार (२०७७ साल)
– साँघुरो गल्ली, पुराना विद्युत् तारहरू र अव्यवस्थित विजुली जडानका कारण असनको एक व्यापारिक भवनमा रातभर आगो बलिरह्यो। दमकल आए पनि साँघुरो बाटोका कारण समयमै आगो नियन्त्रण गर्न गाह्रो भयो ।
सर्लाही, मलंगवा (२०७६ साल)
– विद्युत् सर्ट भएर स्थानीय व्यापारिक क्षेत्रका करिब ५० भन्दा बढी पसल जलेर नष्ट भए । व्यापारीहरूले पटक–पटक तारहरूको मर्मत गरिदिन अनुरोध गरे पनि सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे ।
बारा पर्सा औद्योगिक क्षेत्र (२०७५ साल)
– बारा–पर्सा औद्योगिक क्षेत्रका कैयौं उद्योगहरूमा विद्युत् सर्ट भएर ठूला आगलागी भएका छन् । कतिपय घटनामा अर्बौंको क्षति भएको छ, तर विद्युत् प्रणाली सुधार्ने काम न्यून देखिन्छ ।
समाधान के त ?
– स्मार्ट विद्युत् मिटर र सुरक्षित वायरिङ अनिवार्य गरिनु पर्ने ।
– व्यापारिक र औद्योगिक क्षेत्रहरूमा नियमित विद्युत् जडानको अनुगमन गर्नु आवश्यक ।
– विद्युत् तार परिवर्तन गर्ने सरकारी योजना लागू गर्नुपर्ने । सचेतना कार्यक्रम चलाएर घर तथा कार्यालयमा सुरक्षित तार जडानको प्रवद्र्धन गरिनु पर्ने ।
नेपालमा विद्युत् सर्टकै कारण हुने आगलागीहरू केवल सामान्य घटना मात्र होइनन् । यी दुर्घटनाहरू बेलैमा न्यूनीकरण गर्न सकिएन भने जनधनको क्षति निरन्तर बढ्नेछ । सरकारले यस्ता घटनाहरूबाट पाठ सिकेर सुधार गर्ने तर्फ ध्यान दिन आवश्यक छ ।
सिंहदरबारमा आगलागीभित्र रहस्य नै रहस्य ! के देखिदैछ यस्तो !