
बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा संघीयता, गणतन्त्र र धर्मपनिरपेक्षताको जननी माओवादी भएको बताएका छन् । बुधवार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको उनकाे दाबी छ । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरुले वर्तमान गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट जनतामा भ्रम फैलाएको आरोप लगाए ।
पूर्वराजा शाहका गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको उनकाे भनाइ छ ।
प्रचण्डले भने, ‘यो गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएर एकथरी इतिहासबाट परास्त भएर मिल्क्याइएका शक्तिहरु फेरि बाटोमा देखापरे । हामीले सोच्यौँ । तराईमा त हिँड्दै गरौँला आएर । पहिला काठमाडौंमा गएर तिनीहरुलाई चुनौति दिनुपर्छ भनेर किनभने यो त उत्पीडित जाति, वर्ग, समुदाय सबैले मिलेर ल्याएको परिवर्तन हो । यसको रक्षा गर्ने जिम्मेवारी जसले जन्माएको हो त्यसको नै हुन्छ । आज समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी नै हो ।’
अध्यक्ष दाहालले प्रतिगामी चलखेललाई सफल हुन नदिने समेत बताएका छन् ।