
काठमाडौं । कांग्रेस नेताहरुले जग्गा हडपेको भन्ने विषय संसदमा प्रवेश गरेपछि कोलाहाल मच्चिएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीको नाम लिएर भएको विरोधमा कांग्रेसले आपत्ति जनाएपछि अहिले रास्वपा भर्सेस कांग्रेसको स्थिति बनेको छ ।
कांग्रेस नेताहरुले जग्गा हडपेको भन्दै रास्वपाका नेताहरुले आरोप लगाएपछि प्रतिनिधिसभामा बुधबार माहोल नै गरम बन्यो । स्थिति कांग्रेस भर्सेस रास्वपा नै बन्न पुग्यो ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ९ स्थित लोकतान्त्रिक चोकमा रहेको चिहानलाई पनि व्यक्तिको नाममा राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रश्न उठायो । रास्वपा सांसद शिशिर खनालले कांग्रेस नेताले जग्गा हडपेको गुनासो आएको र सञ्चारमाध्यममा समेत आएको भने ।
रास्वपाका शिशिरले मात्रै नभई सुमना श्रेष्ठले पनि यहि विषय राखिन् । रास्वपाले यसरी आरोप लगाएपछि कांग्रेस सांसदहरुले विरोध जनाए । उनीहरुले नियमापत्तिको जनाउ गरे ।
विरोध चलिरहँदा सभामुख देवराज घिमिरेले बस्न आग्रह गरिरहे । कांग्रेसले अवरोध गरिरह्यो । उठेर विरोध गरिरहेको कांग्रेसलाई सभामुख देवराज घिमिरेले जिम्मेवारीपुर्वक विषय आउने विश्वास व्यक्त गर्दै संस्थागतभन्दा पनि व्यक्तिगत रुपमा आरोप लागेको भने ।
सदनमा चलेको चर्काचर्कीपछि संसद बाहिर समेत यो विषयले प्रवेश पायो । कांग्रेस सांसद रामहरि खतिवडाले भर्खरै कांग्रेस छाडेकाहरुले क्रान्तिकारिता देखाउन कांग्रेसमाथि आरोपित गर्ने काम गरेको दाबि गरे ।
कांग्रेसले यसको प्रतिवाद गरेपनि रास्वपाले भने सार्वजनिक जग्गा हडपिएको आरोप चर्को रुपमा उठाएको छ । रास्वपाले कित्ता नम्बर नै किटेर दाबी गरिरहेको जग्गा कांग्रेस नेताकै नाममा रहेको देखिन्छ ।
यो विषयले अब रास्वपा भर्सेस कांग्रेसको स्थिति बनेको छ, भने रास्वपा आफ्नो दाबीबाट पछि हट्ने स्थिति समेत देखाएको छैन् ।
कसलाई लाग्यो जग्गा हडपेको आरोप ?
रास्वपाले तारकेश्वर नगरपालिका वडा नम्बर ९ को लोकतान्त्रिक चोक नजिकै रहेको कित्ता नम्बर ६२ को जग्गा कांग्रेस नेता अर्जुननरसिंह केसीका भाई केदारनरसिंह केसीको नाममा रहेको र कित्ता नम्बर ६३ को जग्गा नेपाल सरकारको नाममा रहेको उल्लेख भएको देखिन्छ । रास्वपाले दुबै कित्ता कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएपनि कित्ता नम्बर ६३ को जग्गा भने नेपाल सरकारको नाममा नै रहेको देखिन्छ ।
यसबाट के प्रष्ट देखिन्छ भने रास्वपाले लगाएको आरोप पुर्ण सत्य होइन । केदारनरसिंह नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र क्षयरोग केन्द्रको निर्देशकको रूपमा काम गरिसकेका छन् । उनी काठमाडौंस्थित थिंक ट्याङ्क सोसाइटी फर डेमोक्रेटिक थिंकिङका पूर्वअध्यक्ष पनि हुन् । अर्जुनरसिंह केसीका भाई जोडिएको जग्गामा रास्वपाले गरेको दाबीले कांग्रेस भर्सेस रास्वपाको स्थिति बनेको छ ।
रास्वपाको दाबी र अर्जुनरसिंह केसी
रास्वपाले दुई कित्ता जग्गा कब्जा गरेको दाबी गरेपनि एउटा कित्ता सरकारी नाममा नै देखिन्छ । रास्वपाले यसरी सरकारकै नाममा सुरक्षित रहेको जग्गामाथि समेत विवाद सृजना गर्ने कारणका पछाडि जोडिन्छन, कांग्रेस महामन्त्री गगन थापा । गगनकी श्रीमति अर्जुननरसिंह केसीकी छोरी हुन् ।
यसरी अर्जुननरसिंह केसीका भाइ केदारनरसिंह र गगनको परिवारको नाता सम्बन्ध छ । गगन तीनै व्यक्ति हुन, जसले रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी गरेको आरोप लगाउदै कारबाहीको माग गरेका थिए । प्रमाण छ भन्दै गगनले संसदीय छानविन समिति बनाउने विषयमा चर्को आवाज नै उठाएका थिए ।
यसरी अहिले रविविरुद्धको स्थिति सिर्जना हुनुमा कांग्रेस र गगन कारण देखिन्छन् । यहि कारण पनि रास्वपाले जग्गाको विषयलाई जोडतोडका साथ उठाउने स्थिति देखिन्छ । तर, रास्वपाले गरेको दाबीअनुसारकै दुई कित्ता केदारनरसिंहको नाममा नदेखिदा भने रास्वपाको दाबी केहि फिक्का देखिन्छ ।