
काठमाडौं । दुई कार्यकाल नेपाली कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवाले आसन्न १५ औं महाधिवेशनमा सभापतिमा उठ्न नपाउने भएपछि कसले नेतृत्व सम्हाल्ने भन्ने चासो कांग्रेस चर्किएको छ ।
२०७८ मंसिरमा १४ महाधिवेशनसम्पन्न भएकाले आगामी ८ महिनाभित्र चार वर्षे कार्यकाल पूरा हुँदैछ । तर निर्धारित समयमा महाधिवेशन हुनेमा भने अन्योल छ । यद्यपि पार्टीको नयाँ नेतृत्वका लागि नेताहरुको देश दौडाहा चलिरहेको छ ।
शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पदावधि आगामी मंसिरमा सकिँदैछ । तर कांग्रेस संस्थापन पक्ष भने निर्धारित समयमै १५ औं महाधिवेशन गर्ने पक्षमा देखिदैन ।
त्यसैले इतर समूहका नेताहरुले निर्धारित समयमै महाधिवेशन गराउन पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने पक्षमा छन् । महाधिवेशन आफूहरुलाई चाहिएको भन्दै नेता शेखर कोइरालाले दबाब दिन कार्यकर्तालाई अपिल गर्ने गरेका छन् । निर्धारित समयमा महाधिवेशन नभएमा कांग्रेस कमजोर हुँदै जाने र महाधिवेशनबाट नै पार्टी चलायमान हुने उनी तर्क गर्छन् ।
आगामी मंसिर भित्रै महाधिवेशन नभए पनि ८४ को निर्वाचनअघि नै निर्वाचन गर्नैपर्ने पक्षमा कांग्रेस नेताहरु देखिन्छन् । ८४ को आम चुनावपछि महाधिवेशन गरेमा पार्टीमा बैधानिक संकट उत्पन्न हुने भएकाले ८३ सालमा अधिवेशन हुने कतिपय नेताहरुको भनाई छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीको नयाँ नेतृत्व चयन गर्ने भन्दा पनि सरकारको नेतृत्व कहिले हात पर्छ भन्ने प्रतिक्षामा छन् । बिधानतः देउवा आसन्न महाधिवेशनमा पार्टी सभापतिमा उठ्न नपाउने भएकाले पनि केपी शर्मा ओलीपछि आफू प्रधानमन्त्री बन्नका लागि पनि महाधिवेशन निर्धारित समयमा गर्ने पक्षमा छैनन् ।
एमालेसँग सत्ता सहकार्यकाबेला भएको ७ बुँदे सहमतिअनुसार कांग्रेसले २०८३ असार अन्तिम सातासम्ममा सरकारको नेतृत्व पाउनेछ ।
त्यसैले त्यो भन्दाअघि महाधिवेशन भएमा देउवाले प्रधानमन्त्री पद नपाउने निश्चित छ । त्यसैले देउवा पार्टीको महाधिवेशन एक वर्ष लम्ब्याउने पक्षमा छन् । तर पनि इतर पक्षको दबाबका कारण उनी निर्धारित समयमै महाधिवेशन हुँदैन भन्न सकिरहेका छैनन् ।
देउवाले तोकिएकै समयमा महाधिवेशन हुने भन्दै टाउको हल्लाउने गरे पनि उनी पक्षका नेताहरुले आगामी मंसिरमा नहुने बताइरहेका छन् । महाधिवेशनको तयारी नपुगेका कारणले अगामी मंसिरमा महाधिवेशन नहुने देउवा पक्षका नेता एवम् कांग्रेस प्रवक्ता प्रकाश शरण महत बताउँछन् ।
को बन्दैछ कांग्रेस सभापति ?
कांग्रेसको १५ औं महाधिवेशन आगामी मंसिरमा नभए पनि विधानतः एक वर्षभन्दा बढी समय थप गर्न नपाइने भएकाले ८४ सालको निर्वाचन अघि नै अधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यसैले पार्टीको नयाँ नेतृत्वका लागि नेताहरुले कार्यकर्ता भेटघाटका साथै जिल्ला दौडाहालाई तीब्र बनाइरहेका छन् ।
देउवा लगातार दुई कार्यकाल सभापति बनेका कारण अबको नेतृत्व आफूले हत्याउने दाउमा शेखर कोइराला छन् । तर कोइरालालाई नै देउवाले साथ दिने अवस्था चाँही छैन । त्यसो भए देउवाले कसलाई अघि सार्दैछन् त पार्टी सभापतिमा ? सबैको चासोको विषय बनिरहेको छ ।
यहि चासोकाबीच १४ औं महाधिवेशनमा देउवालाई साथ दिएका कृष्ण सिटौलासहित झण्डै एक दर्जन नेताहरु देउवाको आर्शिवाद खोजिरहेका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सहरी विकाशमन्त्री रहेका नेता प्रकाशमान सिंह, नेता विमलेन्द्र निधि, डा. सशांक कोइराला लगायत संस्थापन पक्षका मात्रै झण्डै एक दर्जन नेताहरु नयाँ नेतृत्वको आकांक्षी छन् ।
गणेशमान सिंहका छोरा प्रकाशमान र वीपीपुत्र सशांकले त पार्टी कार्यक्रमहरुमा सभापतिको दाबेदारी प्रस्तुत गरिसकेका छन् ।
पार्टीमा आफूपछि पत्नी आरजुको स्पेश खोजिरहेका देउवाले त्यो स्पेश कसरी प्राप्त गर्छन्, त्यसैको आधारमा नेयाँ नेतृत्वका लागि आर्शिवाद दिने निश्चित छ ।