News 24 Television
धरापमा ओली सरकार, गुहार्दै पार्टी र संयन्त्र !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता नेतृत्व सम्हालेपछि बारम्बार भन्ने शब्द हो – ‘भ्रष्टाचार गर्दिनँ, गर्नपनि दिन्नँ । सरकार निर्वाचनसम्मै टिक्छ ।’ र ‘देउवा जीलाई समयमै सत्ता हस्तान्तरण गर्छु ।’ 

ओलीले सत्ता टिकाउन र काँग्रेसलाई थुमथुमाउन हरेक कार्यक्रममा दोहो¥याइ राख्ने अभिव्यक्ति यही नै हो । यो क्रमलाई उनले अझै निरन्तरता दिइरहेका छन् । यहाँसम्मकी ओलीले विभिन्न प्रदेशसभाको सम्बोधनका क्रममा पनि यही अभिव्यक्तिलाई दोहो¥याइरहे । 

ओलीले पछिल्लो पटक मधेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दा पनि देउवालाई समयमै सत्ता हस्तान्तरणको संकेत र गठबन्धन निर्वाचनसम्मै रहने दावी गरेका थिए । 

सरकार नढल्ने जिकिरमा प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै १७ महिनासम्म तोप नै हाने पनि सरकार नढल्ने भनेका थिए । 

तर नयाँ वर्षको आगमनसँगै प्रधानमन्त्रीको उक्त दावीहरुमा धक्का पुगेको छ । प्रतिपक्षी दलका नेता प्रचण्डले पनि नयाँ वर्षकै पूर्वसन्ध्यामा सरकार ढल्ने संकेत गरेका थिए भने उनले काँग्रेस सत्ता नेतृत्वमा आउन तयार भएको अवस्थामा माओवादीले सघाउने पनि खुलाएका थिए । यसपछि सत्ता गठबन्धनमा अझ तरङ्ग पैदा भइरहेको छ । 

यसले सरकार नै ढल्नेसम्मको चौतर्फ हल्ला मच्चिएको छ । यस्तैमा काँग्रेसकै एक पक्षले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै गम्भीर आरोप लगाएपछि अझ सरकारमाथि दबाव बढ्दैछ । काँग्रेसकै नेता शेखर कोइराला र महामन्त्री गगन थापाले सरकार कुशासन र वेथितिमा लिप्त भएको आरोप लगाएका छन् । यस्तोमा गगनले त प्रधानमन्त्रीको ‘बेड रुम’ सम्म नै विचौलिया पुग्ने गरेको जिकिर गरेका छन् ।

सरकार ढल्ने विपक्षीको चेतावनी र सत्ता पक्षकै गम्भीर आरोपहरुपछि प्रधानमन्त्री केपी शर्मा ओली भने आत्तिएका छन् । ओलीले सत्तामा खटपट आउनसक्ने हल्ला लगत्तै पार्टीको सचिवालय बैठक बसाले । उक्त बैठकमा सत्ता गठबन्धनको संकटबारे नै प्रमुख छलफल भएको थियो । यसपछि मंगलबार मात्रै ओलीले शेरबहादुर देउवासँग छलफल गरे । 

साथै मंगलबार नै मन्त्रिपरिषद बैठक पनि बोलाइयो । मुख्यतः सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षकको बढुवा र पछिल्लो समय काँग्रेसबाट लगातार सरकारको आलोचना भइहेको विषयमा विमत्ति रहेको बताइन्छ । सोमबारको देउवा–ओली छलफल यसैमा केन्द्रीत रहेको बताइएको छ । 

देउवासँगको छफलफल र मन्त्रिपरिषदको बैठकपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली ढुक्क रहने अवस्थामा देखिएका छैनन् । 

उनी सत्ता संकटका कारण अतालिएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थन मात्रैले अडिएका ओली काँग्रेससँग सम्बन्ध बिग्रिए प्रधानमन्त्रीबाट हट्नुपर्ने खतरामा छन् । 

यसै त्रासले प्रधानमन्त्री ओली उच्चस्तरिय संयन्त्रको बैठक समेत बोलाउने निश्कर्षमा पुगेका हुन् । सरकारको कामलाई प्रभावकारी बनाउन काँग्रेस एमाले नेताहरु सम्मेलित उच्चस्तरिय संंयन्त्र निर्माण गरिएको थियो । तर संयन्त्रमै सम्मेलित नेताहरुले सरकारको तीव्र विरोध गर्न थालेपछि प्रधानमन्त्री ओली उक्त बैठक बोलाउने बाध्यतामा पुगेका हुन् । 

ओलीले सत्ता संकटको भ्रम चिर्न पार्टीको बैठक बसाले । देउवासँगै छलफल गरेलगत्तै मन्त्रिपरिषद बैठक बोलाइयो । तर पनि सत्ता संकट टर्ने संभावना नदेखेपछि ओलीले पुनः उच्चस्तरिय संयन्त्रकै बैठक बोलाएको देखिन्छ । 

विगतमा सत्ता कुनै हालतमा नढल्ने दावी गर्दै आएका ओली अहिलेको संकटदेखि भने अतालिएको देखिन्छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update