News 24 Television
सत्तारूढ दलका प्रमुख सचेतक भन्छन्- ‘वैशाखभित्रै संसदबाट शिक्षा विधेयक पारित हुन्छ’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् ।

बुधवार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग भएको छलफलबारे पत्रकारहरुलाई जानकारी दिँदै उनले यस्तो बताएका हुन् । उनले वैशाख १२ गतेदेखि शुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गरे । 

बर्तौलाले भने, 'सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ ? उहाँहरु स्वयंले जान्नुहोस् । त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस् तर सरकारले उहाँहरुको न्यायोचित मागहरु पूरा गर्छ भन्नेकुरामा, समयमै विधेयक आउने कुरामा  संसदले काम गरिरहेको छ । एकदिन पनि समितिबाट आएको प्रतिवेदन एकदिन पनि होल्ड नगरी  अन्य सरकारी बिजनेसलाई होल्ड गरेर भएपनि पार्लियामेन्टमा विधेयक आएपछि  एकदिन पनि ढिलो नगरीकन हामी यो विधेयक पारित गर्छौं । र उहाँहरुका कयौँ राम्रा कुराका विषयहरुलाई सम्बोधन गरेर हामीले यो ऐनलाई अगाडि बढाउँछौँ । हामीले ग्यारेन्टी दिने गरी काम गरेका छौँ ।'

संसद अधिवेशनको नियमित कार्यसूचिका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भएपनि शिक्षा विधेयक पारित गर्ने उहाँको भनाइ छ । उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताए । ऐन-कानून निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने बताए । उनले  शिक्षकहरुमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे । सरकारले जनाएको प्रतिवद्धतालाई शिक्षकहरुले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, 'अहिले संसदले बनाएको समिति समितिले बनाएको उपसमिति त्यसले प्राप्त गरेको समयसीमालाई ख्याल गरेर उहाँहरुले अहोरात्र काम गरिरहनु भएको छ । सरकारको तर्फबाट आवश्यक प्रभावकारी संयोजन भइरहेका छ । जब उपसमिति समितबाट रिपोर्ट पार्लियामेन्टमा आउँछ, बजेटसँग सम्बन्धित सरकारी बिजिनेस यदि कार्यसूचिमा छ भने त्यो रिपोर्ट आएपछि एकदिन पनि नरोकी बरु एक दुई दिन त्यसलाई होल्ड गर्न पर्यो बजेटसँग रहेका कार्यसूचीलाई होल्ड गर्नुप¥यो भने होल्ड गर्छौं । प्रतिवेदन आएको दुई दिन पनि नराखी पार्लियामेन्टबाट हामी पारित गराउँछौँ । त्यसकारण २२ वा २२ गतेसम्म उपसमितिले समितिलाई प्रतिवेदन पेश गर्ने समितिले एकाध हप्ता छलफल गर्दा यसको अन्तिमसम्म पेश गर्यो भने मलाई लाग्छ यो महिनाकै अन्तिममा त्यो हाराहारीमा एकाध दिन तलमाथि होला हामी पारित गर्ने ठाउँमा हुन्छौँ । शिक्षक साथीहरुलाई विश्वस्त पार्ने गरी उहाँहरुको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ ।'

नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वैशाख १९ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत हुने बताए । उनले सभामुखसँगको छलफलमा शिक्षा विधेयकको विषयमा खास छलफल नभएपनि समितिबाट संसदमा विधेयक आयो भने प्राथमिकताका साथ अगाडि बढाउने निर्णय भएको बताए । आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममाथि हुने छलफल नै प्रमुख विषय भएको बताए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update