
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । उनले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तँलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाए ।
आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको उनको भनाइ छ । उनले अदालतले डिल गर्यो, अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न गरे । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषीलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको थापाकाे टिप्पणी छ ।
लोकतन्त्रको कडीका रुपमा रहेका संस्थाहरुप्रति जनताको विश्वास घट्दै गएको उनले बताए । अदालत, अख्तियार र संसदको प्रभावकारीतामाथि निराशा पैदा भइरहेको भन्दै थापाले यी सब निकायमाथि र पार्टीमाथि जनतामा संशय पैदा भएकाे बताए ।
थापाले भने, ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरुलाई दुई÷तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरुको कार्यअवधी सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाँही चार वर्ष समय लाग्छ ? त्यो पनि आइतवार हेरुम, पख्लास् शुक्रवारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अहनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषि पाएको छु । उ आफैंले समाचार दिन्छ । अनि आफैं कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ । हामी संसदको एउटा अधिवेशनभरी एउटा कानून बनाउन सक्दैनौं । लोकतन्त्र भनेको त यी संस्थाहरुको प्रभावकारीता र विश्वनीयता हो नि । हाम्रो डेमोक्रेसीको समस्या अख्तियार, अदालत, संसद, पार्टीमाथि जनतामा संशय धेरै हुनु हो । अविश्वासहरु धेरै छ । यो नै लोकतन्त्रको अहिले प्रमुख चुनौती हो ।’
उनले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताए । चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिनसक्ने समेत टिप्पणी गरे । उनले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँग पनि सम्झौता नगरिने स्पष्ट पारे ।
थापाले थप भने, ‘अहिले पूर्वराष्ट्रपतिहरु राजनीतिक दलमा सक्रिय हुने कुराहरु आएको छ । कम्तिमा नेपाली काँग्रेसले भन्नुपर्छ । हामीले भन्ने तागत राख्नुपर्छ । हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरु कहिले पनि फर्केर दलको सदस्यता लिएर आउनुहुन्न । त्यो संस्थाको गरिमा राख्नुहुन्छ । राखिरहनुभएको छ । हिजो हाम्रो पार्टीको सदस्य भएका मानिसहरु आज कोही उपकुलपति होलान्, भइरहेका होलान्, कोही न्यायाधीश होलान् । तर ति कसैबाट पनि पार्टीले विशिष्ट भूमिकाको अपेक्षा गर्दैन । जो जुन ठाउँमा जान्छन् त्यो ठाउँको जिम्मेवारी बहन गनुपर्छ ।’