
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।
बिहीवार नेकपा(एमाले)ले काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह समेत गरे । उनले जनताको बलिदानको र संघर्षको अपमान गर्ने तथा सफलतालाई अस्वीकार गर्ने काम भएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध युवाहरुले लड्नुपर्ने बताए ।
आफू सचेत भएर राम्रा कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने भन्दै ओलीले अबको समय युवाहरुको भएकाले आम्दानी, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘देशमा संविधान नमान्ने, लोकतन्त्र नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने र सफलतालाई अस्विकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ । प्रतिगमनतिर देशलाई लानका निम्ति जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरु, पार्टीका कार्यालयहरु, व्यापारिक घराना र मिडिया हाउसहरुभित्र आक्रमण गर्ने जंगली होइन राक्षशी प्रवृत्ति देखाएर फेरि जनतामाथि कस्तो शासन थप्न खोजेका छन् ? यस्ता कुराको सबैले सुन्ने र बुझ्नेगरी अस्वीकार गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओली पार्टी राष्ट्रिय संकल्पका साथ अघि बढिरहेकै कारण चौतर्फी हमला भइरहेको समेत बताए ।