News 24 Television
देउवा बैंकक हुँदा कान्छारामको पद चैट, काँग्रेस एमाले टसलको नयाँ सुरुवात !

काठमाडौं । काँग्रेस एमालेको सहकार्यमा अहिलेको सरकार अडिएको छ । तर एमाले अध्यक्ष केपी ओलीलाई काँध हालेर सरकारको टेको बनिरहेको संसदकै सबैभन्दा ठूलो दल काँग्रेसका सभापति शेरबहादुर देउवा भने यतिबेला बैंककमा छन् । हुनत देउवा विदेश भ्रमणमा निस्कनुअघि पनि एमाले काँग्रेस गठबन्धनमा खास राम्रो बातावरण थिएन । 

भगर्नर तथा अन्य विभिन्न नियुक्तिका विषयमा दुई दलबीच समझदारी बन्न नसकेको अवस्थामा सत्ता नै धरमराएको थियो । यद्यपि देउवा र ओलीबीच नियुक्तिको बाँडफाट भएपछि ओलीको सत्ता संकट टरेको थियो । तर एमालेले नै राख्ने भनेको गभर्नर काँग्रेसले प्राप्त गरेपनि सो नियुक्ति हुन सकेको छैन । जसले गठबन्धनको भविष्यमा गम्भीर  प्रश्न उठिनै रहेको छ । 

देउवा नहुँदै कान्छाराम आउट !

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्य जोगाइ राख्न विगतमा देउवासँगकै सल्लाहमा कदम चाल्दै आएका थिए । उनी सत्ता जोगाउन पनि देउवालाई सत्ता हस्तान्तरणको मिति बारम्बार दोहो¥याउँदै आएका छन् । बैंकक गइसकेपछि पनि ओलीले देउवालाई सार्वजनिक कार्यक्रममै  सत्ता हस्तान्तरण गर्ने मिति सम्झाएका छन् । 

यद्यपि देउवा विदेशमै रहेका बेला कान्छाराम तामाङलाई ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेपछि भने काँग्रेसमा अर्को तरङ्ग पैदा भइरहेको छ । 

प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई राजीनामा दिन गृहमन्त्रीमार्फत आग्रह गरेपनि कान्छारामले अस्वीकार गरेका थिए । आफूलाई पार्टीले राज्यमन्त्री बनाएकाले पार्टीकै आग्रहमा मात्रै राजीनामा दिने अडान कान्छारामको थियो । राज्यमन्त्रीको एक्कासी भएको बर्खास्तीको विषयले पनि काँग्रेसमा सत्तामाथि हेर्ने नजर अब कस्तो होला भन्ने प्रश्न उठेको छ ।  

कान्छारामको बर्खास्तीमा ‘कुलमान कनेक्सन’ 

राज्यमन्त्रीबाट बर्खास्त भएपछि कान्छारामले प्रधानमन्त्रीमाथि असन्तुष्टि र काँग्रेस नेतृत्वमाथि नै प्रश्न उठाएका छन् । उनले सार्वजनिक रुपमै कुलमानको पक्ष लिँदा राज्यमन्त्रीबाट बर्खात भएको भनेका छन् भने एमालेसँग सत्ता सहकार्य गर्नु काँग्रेको लागि घातक हुने पनि निश्कर्ष दिएका छन् । यतिमात्रै होइन, यो विषयले काँग्रेसभित्रै सत्ताप्रति असन्तुष्ट जनाइरहेका पक्षलाई समेत मलजल गरेको छ । 

काँग्रेसमा गगन–शेखर समूह सत्ता संचालनको विषयमा सन्तुष्ट छैनन् । यसै सन्दर्भमा गगन थापाले यसअघि नै ओली लक्षित टिप्पणी गदै प्रधानमन्त्रीको बेडसम्मै विचौलियाको पहुँच रहेको टिप्पणी गरेका थिए । उता शेखर कोइराला त अझै सरकार कुशासन र भ्रष्टाचारमा लिप्त रहेको बारम्बार दोहो¥याइ रहेका छन् । 

एक्लिँदै ओली !

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय पार्टी र सत्तामै एक्लिँदै गएका छन् । ओलीविरुद्ध एमालेमै पनि घेराबन्दी बढ्दै गएको छ । शिक्षामन्त्री विद्या भट्टराईलाई राजीनामा दिन बाध्य पारिएको विषयले एमालेमै खैलाबैला मच्चिएको छ । एमालेमा ओलीको विकल्पका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत तयार पारिएको टिप्पणी हुँदै आएका छन् । यस्तैमा ओलीले भने आफूविनाको एमाले कल्पना नगर्न चेतावनी दिँदै आएका छन् । 

उता सत्तामा पनि काँग्रेसकै दोस्रो तहका नेताहरुले ओलीको कार्यशैली मनपराइरहेका छैनन् । यद्यपि जबसम्म देउवाले ओलीलाई समर्थन गर्छन् तबसम्म ओली सत्तामा रहने अवस्था छ । तर नेताहरुले घेरिरहँदा पनि देउवाले ओलीलाई कहिलेसम्म बोकिरहन्छन् ? यो प्रश्नको विषय बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update