News 24 Television
सरकारले एउटै नराम्रो काम गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै नराम्रो काम नगर्दा पनि बद्नाम गर्ने काम भइरहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न र नेकपा एमालेको बद्नाम गर्ने काम भइरहेको बताए ।

उनले एमाले, एमालेको नेतृत्व, विचार र राम्रा कामहरुको बिरोध भइरहेको बताउँदै प्रश्न गरे- सरकारले अहिले के नराम्रो काम गरेको छ र यत्रो विरोध गरेको ? उनले बर्बाद पारेको अर्थतन्त्र र लोकतन्त्रलाई ठिक दिशामा लैजाने काम अहिलेको सरकारले गरिरहेको दाबी पनि गरे ।

देशका लागि काम गर्दा देश नै बर्बाद बनाएझैँ विरोध भइरहेको बताउँदै ओलीले देश विकास, सुशासनको बाटोमा अघि बढिरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो आन्दोलनलाई पनि समाप्त पार्नका लागि पार्टीको बद्नाम गर्ने, लिडरसिपको बद्नाम गर्ने, विचारको बद्नाम गर्ने, हाम्रा कामहरुको कसरी आलोचना गर्न सकिन्छ, त्यो गर्ने । अहिले सरकारले के गरेको छ र ? सरकारले केही त गरेको छैन । कुनै नराम्रो काम एउटै गरेको छैन । तर यत्रो बिरोध, मानिलिऔँ अहिलेको सरकारले देश नै बर्बाद गर्नलाग्यो की जस्तो । बर्बाद पारेको, अर्थतन्त्र बर्बाद पारेको, लोकतन्त्र त्यसलाई ठिक ट्रयाकमा फर्काउँदैछौँ । तर बिरोध यसरी भएको छ । मानौँ हामीले ठूलो जघन्य अपराध देशका बिरुद्ध ग-यौँ । विकास होइन त्यसको विपरित चलेका छौँ जस्तो । हामी विकासको बाटोमा अगाडि चलेका छौँ । सुशासनको बाटोलाई अगाडि बढाएका छौँ । बिरोध यसरी भइरहेको छ की मानौँ हामी देश बर्बाद गरिरहेका छौँ । यसै गरी हाम्रा बिरोधीहरुसँग सही काममा दौडिएर हामीलाई पराजित गर्ने र हामी भन्दा अगाडि पुग्ने सामथ्र्य उनीहरुसँग छैन । छिर्के लगाउने, बद्नाम गर्ने, लडाउने, तान्ने धकेल्ने त्यसरी झेली खेलाडीहरु अहिले हामी नेपालमा त्यस्तै भोगिरहेका छौँ ।’

उनले छिर्के लगाउने, बद्नाम गर्ने, लडाउने, तान्ने, धकेल्ने खेलाडीहरु आफ्नो पछाडि लागिरहेको बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update