News 24 Television
ओलीको नजर ‘मिसन ८४’ मै, एक्लै बहुमत ल्याउने धाक ! 

काठमाडौं । सरकार संकटको चर्चा, सरकारमाथि नागरिकको असन्तुष्टि र प्रश्नै प्रश्न रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने पार्टीको मिसन ८४ मै केन्द्रीत हुने संकेत देखाउन थालेका छन् । मुलुकमा बढ्दो नैराश्यता र राजनीतिक नेतृत्वमा चरम वितृष्णा पैदा भइरहेका छन् । प्रधानमन्त्रीबाट यस्को निराकरण र समाधान खोजिनुपर्ने हो । तर प्रधानमन्त्री ओली भने मिसन ८४ कै पछि लाग्न पार्टी पङ्तिलाई निर्देशन दिइरहेका छन् ।

शिक्षक, चिकित्सक तथा निजामती कर्मचारीहरु अहिले विभिन्न माग राख्दै सडक ओर्लिएका छन् । यद्यपि ओली उनीहरुको माग सम्बोधन गर्न खास गम्भीर देखिएका छैनन् । 

बरु उनी सत्ता जोगाउन र आउँदो निर्वाचनमा पनि सत्ताकै आधार निर्माण गर्नेमा तल्लीन देखिन्छन् । साथै कार्यकर्तालाई ओलीले सोही प्रकारको निर्देशन पनि दिइरहेका छन् ।  

आउँदो निर्वाचनसम्म नै काँग्रेससँग एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरिरहँदा सरकार भने जनताको आवश्यकता र मुलुकको मुख्य समस्यालाई ओझेलमा पारिरहेको छ । प्रधानमन्त्रीले पार्टीको समस्यालाई नै जोडेर आउँदो दिनमा एमालेविनाको मुलुक नखोज्नसमेत दलहरु र नेताहरुलाई चेतावनीसमेत दिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भाषणमा दमदार तर बोलिको अडानमा भने चुक्दै आएका पात्र पनि हुन् । विगतमा कयौँ चुनावी वाचा र प्रतिबद्धतामा समेत ओली चुक्दै आएका छन् । 

गएका निर्वाचनहरुको सम्मुखमा गरेका प्रतिबद्धता र एजेण्डकै कारण ओली कहिलेकाँही ट्रोलको सिकार नै बन्ने गरेका छन् । बोलीमा आत्मविश्वास र जनता कन्भिन्स गर्नसक्ने विशेष क्षमता भएका ओलीमाथि पछिल्लो दिनहरुमा भने जनविश्वास घट्दो छ ।  

बोलीमा बेटुङ्गा ओली !

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय बढी नै रुपमा मिसन ८४ को चर्का गर्दै आएका छन् । उनी आउँदो निर्वाचनमा पनि एमालेलाई सत्तामै उकाल्नका लागि रणनीति बुन्न तल्लीन छन्  । यद्यपि यस्ता मामलामा ओलीको बोलीमा भने एकरुपता देखिएको छैन । ओली केही साता अघि मात्रै नेता–कार्यकर्ताहरुलाई निर्वाचनमा भन्दा पनि विकासका कार्यमा जुट्न आग्रह गर्दै आएका देखिन्थे । 

उनले केही साता अघि मात्रै अहिले मुलुक निर्वाचन नजिकै नरहेको र त्यसका लागि तयारी गर्न आवश्यक पनि नभएकाले कार्यकर्तालाई विकासको कार्यमा जुट्न निर्देशन दिइरहेका थिए । 

तर त्यसको केही दिनपछि नै लगातारजसो मिसन ८४ को नारा लगाउँदै त्यसको वीव्र तयारीमा लाग्न ओलीले नेता कार्यकर्तालाई निर्देशन दिइरहेका छन् । जसले ओलीको बोलीमा खास टुंगो नदेखिएको हो । सत्ता र सरकारमा रहँदा पनि बोली र कामको तालमेल नमिलाएका ओली जनताबाटै थप विकर्षित हुने अवस्थामा पुगेका देखिन्छन् । 

केही समयअघि मात्रै कार्यकर्तालाई निर्वाचनभन्दा विकासका कार्यमा लाग्न आग्रह गरेका ओलीले त्यसको केही दिनमै मिसन ८४ र त्यसको आडमा बहुमत ल्याउने धाक दिइरहेका छन् ।  जसले ओलीका लागि राजनीतिक सत्ता प्राप्तिकै लागि मात्रै की सामाजिक सेवाका लागि पनि हो ? 

भन्ने प्रश्न ते¥स्याएको छ । अर्कोतर्फ सत्ता नेतृत्वमै रहेका ओलीले मुलुकको तत्कालका समस्यालाई समाधान गर्नुपर्ने की भावि निर्वाचनको चिन्ता लिनुपर्ने ? भन्ने नैतिक प्रश्न पनि सँगै सामना गर्नुपरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update