News 24 Television
गगनलाई ओलीको च्यालेन्जः देउवाको जोडबल र थाइल्याण्ड कथन

काठमाडौं । केपी ओली नेतृत्वको सरकार कहिलेसम्म टिक्ला ? के यो सरकारको आयु सकिने स्थिति सिर्जना भएको हो ? यस्ता प्रश्नको निवारण खोज्ने प्रयास चलिरहेको छ । तर, विवाद लम्बिने खतरा पनि बढेको छ । 

यता, अहिलेको सरकार भूराजनीतिक परिस्थितिका कारण पनि संकटमा फस्दै गइरहेको विश्लेषण समेत चलिरहेको छ । यस्तोमा राष्ट्रिय रुपमा किन राजनीतिक शक्तिहरु मिल्ने बाटो खोज्ने प्रयास गरिरहेका छैनन् त ? 

कांग्रेस एमालेको सत्ता गठबन्धनमा अनेक उल्झन आइरहेका छन् । विरोधाभास चर्किन लाग्दा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर विवाद छैन है भनिदिन्छन्, तर विवाद सल्टिन्न । 

कुनै बेला सरकारलाई सफल बनाउने भन्दै हिडेका नेताहरुले खुलेआम चुनौति मात्रै दिन थालेका छैनन्, उनीहरुले गम्भीर आरोप नै लगाउने गर्छन् । यस्तोमा शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली र देउवाबीचको बैठकले सितलता प्रदान गरेको दाबी चर्किएको छ । 

मु्ख्यतः भागबण्डामा आधारित राजनीतिक संस्कारले प्रणालीमाथि नै प्रश्न उठाइरहेको बेला कांग्रेस महामन्त्री गगन थापाले लगाएको गम्भीर आरोपमाथि प्रधानमन्त्री ओली पनि प्रतिवादमा उत्रिएका छन् । गगनले प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलिया पुग्ने गरेको आरोप लगाएपछि ओलीले प्रमाणित गर्न चुनौति दिएका छन् । 

देउवाले हामी मिलिरहेका छौं भन्ने सन्देश प्रवाह गर्न खोजेपनि समस्या भने देखिने गरेको छ । दुई ठूला दलबीचको सहकार्यमा यस्तो समस्या सामान्य भएपनि गम्भीर प्रकृतिका विषयमा प्रवेश गर्नुले बालुवाटार बैठकमा भएको वार्ता फलदायी होला ? शंका छ । यद्यपी देउवाले असुरक्षित महशुस नगरुन्जेल ओली सरकारले निरन्तरता पाउनेमा भने शंका छैन् । तर, के यस्तो राजनीतिक प्रणालीले मुलुकलाई निकास दिन सक्ला ? 

प्रश्न स्वभाविक देखिन्छन् । यता, कांग्रेस सभापति शेरबहादुर देउवा ताइल्याण्ड गएपछिको चर्चा पनि राजनीतिक विषय बन्न पुगेको छ । यस्तोमा केहिदिन पहिले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्नुपर्ने भनेका थिए । 

नेता पोखरेलले भूराजनीतिक परिस्थितिबारेको व्याख्या देउवा थाइल्याण्ड भ्रमणमा निस्किएको बेला नै आएको थियो । उसोतः पछिल्लो समय दक्षिण एसियाको राजनीतिमा कुनै फेरबदलको संकेतका लागि थाइल्याण्ड वार्ताको केन्द्र बन्न थालेको चर्चा चलिरहेको छ । 

भारतले पनि थाइल्याण्डलाई यसका लागि उपयोग गरिरहेको भनिन्छ । जुन विषयमा नेपाल कम्युनिस्ट पार्टीमा महासचिव समेत रहेका नेता विप्लवले पनि देउवाको थाइल्याण्ड भ्रमणलाई शंकाको दृष्टीले हेर्न खोजेको देखिन्छ । 

राजनीतिक रुपमा नेपाल संकटतर्फ जान थालेको चर्चा चलिरहेको छ । सडक अशान्त बनिरहेको छ । शिक्षक, कर्मचारी, चिकित्सक आन्दोलित छन् ।

विभिन्न माग राख्दै चलिरहेका यस्ता आन्दोलन प्रदर्शनले पनि नागरिक असन्तुष्टी बढेकोमा शंका छैन् । तर, सरकारले प्रभावकारी कदम चाल्नुको सट्टा उत्तेजित पार्ने र बल प्रयोग गर्ने गरेको आरोप लाग्न थालेको छ । 

सुशासन कायम गराउने भन्दै आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेका ओलीलाई अनेक प्रश्न समेत गर्न थालिएको छ । तर राजनीतिक नेतृत्व वा व्यक्तिमा भन्दा पनि प्रणालीमाथिका प्रश्न र समाधानमा पनि प्रणालीमाथिकै सुधारको आवश्यकता पर्न थालेको चर्चा चलिरहेको छ ।

के ओली देउवाले राजनितिक संस्कार र लोकतान्त्रिक चरित्र देखाउदै मुलुकलाई निकास दिने बाटो रोज्लान ? नागरिक ब्यग्र प्रतिक्षामा बस्नु परिरहेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update