काठमाडौँ । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रश्ताव प्रतिनिधि सभाको मंगलवारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षीले आपत्ति जनाएका हुन् ।
सोमवार दर्ता गराएको पाण्डे प्रश्तावक रहेको प्रश्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर रहेका छन् । यो प्रश्तावमा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि समर्थन छ ।
मंगलवारको सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्न चासो नदेखाएको आरोप लगाए । उनले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा सरकार पानी र बुट बजार्ने काममा लागेको आरोप समेत लगाए । प्रतिपक्षी दलहरुले राखेको प्रश्तावमाथि छलफल गर्न सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने उनको माग छ ।
विगत लामो समयदेखि आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरुको आवाजलाई समेत सरकारले वेवास्ता गर्दै आइरहेको विपक्षीहरूको भनाइ छ ।