News 24 Television
भारतको शरणमा बाबुराम, ओली ढाल्ने चाहना, के पाक्दै छ ?

काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई यतिबेला दिल्ली दौडमा छन् । राजनीतिक भेटघाटमा पुगेका बाबुरामले भारत बसाई उच्चस्तरीय बनाइरहेका छन् । कुनैबेला माओवादीभित्रै भारत परस्तको आरोप लाग्ने गरेका बाबुरामले यतिबेला राजावादी र गणतन्त्रवादीबीच दोहोरी चलिरहँदा भारतमा देखाएको सक्रियता अर्थपूर्ण मानिएको छ । 

राष्ट्रिय राजनीतिमा ओली सरकारको आलोचना भइरहेका बेला राष्ट्रिय राजनीतिमा किनाराकृत भएका बाबुरामले भारत भ्रमणका क्रममा रक्षामन्त्री, राजदुतसहित प्रतिनिधिसंग भेटघाटगरिरहेका छन् ।

कुनैबेलाबौद्धिक नेताको पहिचान बनाएका डाक्टर बाबुराम भट्टराई बैचारीक विचलनले राष्ट्रिय राजनीतिबाटै यतिबेला किनाराकृत छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त उनलाई ज्ञान भएका तर बुद्धि नभएका नेताका रुपमा बेला बेला चित्रण गर्ने गर्छन् । एकपछि अर्को गरी आफ्नो नजिककाले छाड्दै गएर एकल यात्री जस्ता बनेका बाबुराम यतिबेला भारत भ्रमणमा छन् । भारत परस्तको आरोप लाग्ने गरेका बाबुराको यतिबेला भारतमा भएको उच्चस्तरीय भेटवार्ताले संशय पैदा गरेको छ ।  

छोरी मानुसी यमीसहित भारत पुगेका भट्टराईले भारतका रक्षामन्त्री राजनाथ सिंहदेखि भारतीय जनता पार्टीका पूर्वअध्यक्ष डा.मुरली मनोहर जोशी, भारतीय कांग्रेसका वरिष्ठ नेता, सांसद एवं पूर्वमन्त्री जयराम रमेश, जनता दल (यूनाइटेड) का केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदौरिया सहितका नेतासंग भेटघाट गरेका छन् । 

साथैभट्टराईले भारतीय पुर्वराजदुतहरु रञ्ञित रे, मन्जिव सिंह पुरी, श्यामशरण र राकेश सुदसंग सामुहिक भेटवार्ता गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वीकार गरिसकेको अवस्था छैन । 

अर्काेतर्फ नेपालमा गणतन्त्रको विकल्प राजतन्त्र र हिन्दुराष्ट्रको विषय जोडतोडले उठिरहेको छ । राजनीतिका पण्डितहरुले भारतले नेपाललाई हिन्दुराज्य बनाउन चाहेको विश्लेषण गर्ने गरेका छन् । भारतीय प्रधानमन्त्री  मोदी पनि कट्टर हिन्दुवादी नेता हुन् । 

यस्तो अवस्थामा भारतको शरणमा पुगेका बाबुरामले नयाँ राजनीतिक चाल चाल्नेसक्ने आंकलन गरिएको छ । तर उनको भारत मोहले नेपालमा खासै असर नपर्ने विश्लेषकहरु बताउँछन् ।

बाबुरामको ओरालो यात्रा

एक समय यस्तो थियो, नेपाली राजनीतिमा सबैका आदर्श पात्रका रुपमा मानिन्थे पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई । तर पछिल्लो समय भट्टराईको राजनीतिक करियर सकिएको विश्लेषण भइरहेको छ । 

दश बर्षे सशस्त्रसंघर्ष र ०६२÷६३ को जनआन्दोलन हुँदै २०६५ मा गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका भट्टराई ०६८ मा प्रधानमन्त्री बनेका थिए । माओवादी नेताका रुपमा प्रधानमन्त्री बनेका त्यसयता राजनीतिक अस्थिरतामा रुमलिएका छन् । 

उनी नयाँ शक्ति पार्टी मार्फत नेपालमा बैकल्पिक राजनीतिक शक्ति स्थापनामा होमिए पनि असफल भए । नयाँ शक्तिबाट सोचेअनुरुप लक्ष्य प्राप्त गर्न नसकेका बाबुराम मधेसवादी दलसंग कुम जोड्न पुगे । 

मधेस केन्द्रित दल संघीय समाजवादी फोरमसँग एकता गर्दै समाजवादी पार्टी बनाए पनि उक्त पार्टी समेत पछि राजपासँग एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । जसपामा संघीय परिषदको अध्यक्ष भएर काम गरेका भट्टराईलेउपेन्द्र यादवसँग पनि अलग भई नेपाल समाजवादी पार्टी खोले । नेपाल समाजवादी पार्टी समेत यतिबेला दुई किनार बनिसकेको छ । 

उनी निकटका भनिएका अधिकांश नेता कार्यकर्ताले पनि साथ छाडिसकेपछि हालै काठमाडौँमा पार्टी महाधिवेसन सम्पन्न गराएका बाबुराममा परिवारवाद हाबी गरिएको आरोप लागेको छ । बाबुरामले नेसपामा छोरी, ज्वाईदेखि श्रीमतीसम्म महत्वपुर्ण पद दिएका छन् । 

जनताको छोराछोरीका लागि लड्ने प्रण गरेका भट्टराई परिवारवादमा रुमलिदा राजनीतिक नैतिकता माथि प्रश्न उठिरहेको छ । २०७९ मंसिर ४ को आमचुनावमा प्रतिनिधिसभातर्फ माओवादी चिन्हमा नेसपाबाट निर्वाचित एक सांसद महिन्द्रा राय यादलले पनि साथ छाडिसकेका छन् ।रास्ववा, जनमत र नाउपाले बैकल्पिक शक्तिका रुपमा छलाङ मार्दा बाबुराम चौतर्फी घेराबन्दी परेका छन् । 

राजनीतिक संकट मोचन खोजिरहेका बाबुराम अन्ततः भारतको शरणमा पुगेको विश्लेषण सुरु भएको छ । यस्तोमा के भट्टराईले भारतबाट कस्तो पोको बोकेर ल्याउँदै छन् र नेपाली राजनीतिलाई कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update