News 24 Television
विपक्षीले मागे प्रधानमन्त्री ओलीको राजीनामा 

काठमाडौं । वैशाख १२ गतेदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनमा शिक्षक आन्दोलनको बहस चुलिएको छ । चैत २० गतेदेखि शुरु भएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलन झण्डै एक महिनासम्म पनि नरोकिएपछि संसदमा शिक्षक आन्दोलनबारेको बहस चर्किएको हो । शिक्षक आन्दोलनकै विषयलाई लिएर विपक्षी दलहरुले सरकारको राजीनामा माग्न थालेका छन् । सत्ता दलका सांसदहरुले पनि शिक्षकलाई विद्यालय फर्काउने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् । 

चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका शिक्षकहरुको आन्दोलन मंगलबार २८ दिनसम्म पनि जारी नै छ । नयाँ शैक्षिक सत्र शुरु भई विद्यार्थी भर्ना अभियान सञ्चालन गरी पठनपाठनमा लाग्नु पर्ने शिक्षकहरु शिक्षक मैत्री विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । 

शिक्षकहरुको आन्दोलन नरोकिएपछि संसदमा पनि शिक्षक आन्दोलनको विषय चर्को रुपमा उठ्न थालेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

शिक्षक आन्दोलनको विषयलाई लिएर विपक्षी सांसदहरुले प्रधानमन्त्रीको राजीनामासमेत माग्न थालेका छन् । उनीहरुले शिक्षकहरुको माग अनुसार शिक्षा विधेयकलाई टुंग्याउन आग्रह गरेका छन् । 

विपक्षी दलका सांसदहरुले मात्र होइन, सत्तारुढ दलकै सांसदहरुले पनि आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् । 

शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको सत्तारुढ दलका सांसदहरुको भनाई छ ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा आएर शिक्षक आन्दोलनका बारेमा जवाफ दिने वातावरण सिर्जना गर्न पनि सांसदहरुले माग गरेका छन् । 

संसदमा बोल्ने सत्तारुढ दलका कतिपय सांसदले भने शिक्षक आन्दोलनलाई लिएर विपक्षी दलप्रति प्रश्न उठाएका छन् । एमाले सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षक प्रतिनिधिको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । शिक्षक आन्दोलनलाई विपक्षी दलहरूले सरकार ढाल्ने अस्त्र बनाएको उनको आरोप छ ।  

आफूहरुको मागका विषयमा अहिलेसम्म वार्ता सकारात्मक नबनेको भन्दै शिक्षकहरुले भने आन्दोलन थप शशक्त बनाउने बताएका छन् । सोमवार राती भएको वार्ता सहमति नजिक पुगेको सरकार पक्षबाट दाबी गरिए पनि वार्तामा सहभागी शिक्षकहरुले अहिलेसम्म वार्ता सकारात्मक नबनेको बताएका छन् । 

मंगलबार विहान बसेको शिक्षक महासंघको बैठकले तत्काल सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update